जुम्लामा १.४१ ग्राम चरेससहित दुई जना पक्राउ

जुम्ला प्रहरीले लागूऔषध (चरेस) सम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार असार २५ गते राति करिब १०:१० बजे चन्दननाथ नगरपालिका–१ भाडखोलीस्थित जुम्ला–जिल्लीचौर सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका कनकासुन्दरी गाउँपालिका–१ का २१ वर्षीय गणेश भण्डारीलाई चेकजाँच गर्दा ९५० मिलिग्राम चरेस बरामद भएको थियो।
उनको बयानका आधारमा पातारासी गाउँपालिका–२ का २५ वर्षीय रमकृष्ण बोहोरासँग उक्त लागूऔषध खरिद गरेको खुलेपछि प्रहरीले उनको घरमा खानतलासी गरेको थियो। घरभित्र रहेको पसलको टेबलको दराजबाट थप ४६० मिलिग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवै स्थानबाट गरी कुल १.४१० ग्राम चरेस बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालत जुम्लाबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस