जुम्ला– पातारासी गाउँपालिका–३ लोठचौरमा नेपालकै पहिलो अत्याधुनिक कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण हुने भएको छ । समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइमा अवस्थित उक्त स्थानमा वर्षौंदेखि जग्गा विवादका कारण निर्माण कार्य अघि बढ्न नसकेको कर्णालीकै गौरवको खेल आयोजनाअन्तर्गतको ट्रेनिङ सेन्टरको बिहीबार विधिवत् शिलान्यास गरिएको छ ।
विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायादेखि वर्तमान समयमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई चिनाइरहेकी सुनमाया बुढाको जन्मस्थल पातारासीमा नेपालकै पहिलो सुविधासम्पन्न हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण कार्य सुरु भएको हो । बिहीबार रास्वपाकी केन्द्रीय सदस्य तथा पूर्वसांसद विनिता कठायत र जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले संयुक्त रूपमा ट्रेनिङ सेन्टरको शिलान्यास गरेका हुन् । झन्डै २१ वटा खेल पूर्वाधार निर्माण हुने उक्त ट्रेनिङ सेन्टरको कुल लागत अनुमान एक अर्ब ८७ लाख ७६ हजार ३२८ रुपैयाँ रहेको छ ।
परामर्शदाता रारा इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि, काठमाडौंद्वारा तयार पारिएको डीपीआरअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ट्रेनिङ सेन्टर निर्माण गर्न कुल १ अर्ब ८७ लाख रुपैयाँभन्दा बढी लगानी लाग्ने इन्जिनियर प्रवेशकुमार आचार्यले बताए । ‘विभिन्न कारणले विगतमा तयार गरिएका थुप्रै डीपीआर कार्यान्वयनमा आउन सकेका थिएनन्,’ उनले भने, ‘अहिले स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग हुने, खेल पर्यटन प्रवर्धनमा टेवा पुग्ने तथा विभिन्न राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने २१ वटा संरचनासहितको डीपीआर तयार गरेका छौं । विगतमा जग्गा विवादले काम रोकिए पनि अब विवादरहित वातावरण र पर्याप्त बजेट भए समयमै काम सम्पन्न हुन्छ ।’
राष्ट्रिय खेलकुद परिषद्ले पछिल्लो समय पाँच करोड रुपैयाँको ठेक्का आह्वान गरी निर्माण व्यवसायीलाई काम अघि बढाउन जुम्ला पठाएको छ । पहिलो चरणमा भ्याटसहित एक करोड दुई लाख रुपैयाँमा सम्झौता गरी कार्यस्थलमा आएको दियो एन्ड लक्ष्मी निर्माण सेवाले गुणस्तरीय पूर्वाधार निर्माण गर्ने जनाएको छ । राखेपसँग यही असार १५ गते सम्झौता भई आगामी कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको इन्जिनियर आचार्यले बताए ।
हालको एक करोडभन्दा बढीको ठेक्काबाट चौरको गहिरो भाग सम्याउने तथा मेसिनरी वाल निर्माण गर्ने काम हुनेछ । त्यसपछि तीन करोड रुपैयाँको अर्को ठेक्का आह्वान गरी अन्य पूर्वाधार निर्माण अघि बढाइने निर्माण कम्पनीको तयारी छ । रंगशाला निर्माणका लागि दक्ष जनशक्ति बाहिरबाट ल्याइने तथा अर्धदक्ष जनशक्ति स्थानीय स्तरबाट परिचालन गरिनेछ । संरचना निर्माणमा स्थानीय स्रोतसाधन र सिपको अधिकतम उपयोग गरिने जनाइएको छ ।
के–के बन्दै छन् २१ पूर्वाधार ?
वर्षौंदेखि अलपत्र परेको जुम्लाको पातारासीस्थित हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण प्रक्रियाले गति लिन थालेसँगै त्यहाँ बन्ने संरचनाबारे स्थानीयमा उत्सुकता बढेको छ । एक अर्बभन्दा बढी लागत अनुमान गरिएको यस आयोजनाअन्तर्गत २१ वटा विभिन्न संरचना निर्माण हुने डीपीआरमा उल्लेख छ ।
मुख्य गेट, भिआईपी पार्किङ, बस पार्किङसहित चारवटा पार्किङ स्थल, कभर्ड हल, ब्याडमिन्टन कोर्ट, फुटबल मैदान, छात्र तथा छात्रा छात्रावास, प्रशासनिक भवन निर्माण हुनेछन् । त्यसैगरी, भोजनगृह (क्यान्टिन), बास्केटबल कोर्ट, स्विमिङ पुल, पार्क, टिकट काउन्टर, सार्वजनिक शौचालय, गार्ड क्वार्टर, भलिबल कोर्टलगायत २१ भन्दा बढी संरचना निर्माण हुने परामर्शदाता इन्जिनियर प्रवेशकुमार आचार्यले जानकारी दिए । शिलान्याससँगै माटो फिलिङ तथा मेसिनरी वाल निर्माणको काम अघि बढ्नेछ ।
आर्थिक वर्ष २०७४/७५ देखि निर्माण थालिएको ट्रेनिङ सेन्टरले जग्गा विवादका कारण गति लिन सकेको थिएन । बर्सेनि आउने करोडौं रुपैयाँ बजेटसमेत खर्च हुन नसकी फिर्ता हुने गरेको थियो । हालसम्म साढे तीन करोड रुपैयाँभन्दा बढी खर्च भए पनि उपलब्धिमूलक प्रगति हुन सकेको छैन । पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाको संयोजकत्वमा गठित जग्गा विवाद समाधान समितिको निरन्तर पहल, खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेको सक्रियता, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको चासो तथा गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराको समन्वयपछि ट्रेनिङ सेन्टर शिलान्यासको चरणमा पुगेको हो ।
पातारासी–३ लोठचौरका लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले नि:शुल्क रूपमा ६ हजार १२० वर्गमिटर जग्गा उपलब्ध गराएका छन् । हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि आवश्यक १०६.३५ रोपनी अर्थात् ५४ हजार १०६ वर्गमिटर जग्गा पर्याप्त रहेको निर्माण कम्पनीले जनाएको छ । जग्गादातादेखि आयोजना सफल बनाउन विभिन्न चरणमा सहयोग गर्ने सबै निकाय र व्यक्तिलाई शिलान्यास कार्यक्रममा सम्मान गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।
‘विश्व च्याम्पियन धाविका सुनमाया बुढालाई जन्माएको पातारासीले वर्षौंपछि सुविधासम्पन्न खेल पूर्वाधार पाउँदै छ,’ उनले भनिन्, ‘यसले खेलाडी उत्पादनसँगै खेल पर्यटन प्रवर्धनमा पनि टेवा पुर्याउने विश्वास छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन थालेपछि उत्पादनको बजारीकरण, रोजगारी सिर्जना, आयआर्जन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छौं ।’
समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३, लोठचौरस्थित कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणले विश्वको ध्यान आकर्षित गर्ने पूर्वसांसद विनिता कठायतले बताइन् । उनले समयमै आयोजना सम्पन्न गर्न बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै स्थानीय स्तरमा विवाद सिर्जना नगरी निर्माण व्यवसायीलाई सहज वातावरण उपलब्ध गराउन आग्रह गरिन् । हाल कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणका लागि एक अर्ब आठ लाख रुपैयाँको डीपीआर तयार भए पनि यसअघि राष्ट्रिय खेलकुद परिषद्ले भ्याटसहित एक अर्ब ५८ लाख रुपैयाँको डीपीआर तयार गरेको थियो, जुन कार्यान्वयन हुन सकेको थिएन ।




