जुम्ला । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी उत्पादनको प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजार विस्तार तथा उद्योगी–व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ तथा नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले नेपाली उत्पादनको निर्यातमा देखिएका कानुनी, नीतिगत तथा प्राविधिक अवरोध हटाउन सम्बन्धित निकायलाई तत्काल आवश्यक पहल गर्न निर्देशन दिनुभएको हो।
प्रधानमन्त्री शाहले नेपालमा उत्पादन हुने वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै त्यस सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो। उहाँले निर्यातमुखी उद्योगहरूलाई प्रोत्साहन गर्नु, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु तथा रोजगारी सिर्जना गर्नु सरकारको प्राथमिकतामा रहेको बताउनुभयो।
छलफलका क्रममा प्रधानमन्त्रीले नेपाली गलैंचाको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि आवश्यक कूटनीतिक पहल गरिने, प्लाइउड उद्योगका लागि आवश्यक कच्चा पदार्थको अभाव हुन नदिन कच्चा पदार्थको निर्यात निरुत्साहित गर्ने नीति अपनाइने र त्यसका लागि भन्सार दर वृद्धि गर्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।
यस्तै, हिमाली तथा उच्च पहाडी क्षेत्रमा भेडापालन व्यवसाय विस्तारका लागि देखिएका कानुनी जटिलता हटाउन वन ऐन परिमार्जन गर्ने तयारी रहेको उहाँले बताउनुभयो। यसबाट पश्मिना उद्योगका लागि आवश्यक कच्चा पदार्थको उत्पादन बढ्नुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायीका समस्या समाधान गर्न सरकार सदैव सकारात्मक रहेको उल्लेख गर्दै उत्पादन, लगानी, निर्यात र रोजगारी बढाउने नीति प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो। उहाँले निजी क्षेत्रको सुझावका आधारमा आवश्यक नीतिगत सुधार गर्दै उद्योगमैत्री वातावरण निर्माण गरिने पनि स्पष्ट पार्नुभयो।
छलफलमा सहभागी विभिन्न उद्योग सङ्घका प्रतिनिधिहरूले आफ्ना समस्या र माग प्रधानमन्त्रीसमक्ष राखेका थिए। प्रधानमन्त्रीले ती विषयमा सम्बन्धित मन्त्रालय तथा निकायलाई तत्काल आवश्यक निर्देशन दिएपछि आफूहरू उत्साहित भएको व्यवसायीहरूले बताएका छन्। उनीहरूले सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी बने नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार तथा निर्यात प्रवर्द्धनमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्।




