उद्योग वाणिज्य संघ जुम्लाले कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव गर्दै

जुम्ला । उद्योग वाणिज्य संघ जुम्लाले जिल्लाको कृषि, पर्यटन, उद्योग र व्यापार क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित २०८३ साउन २२ गतेदेखि भदौ ५ गतेसम्म कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव–२०८३ आयोजना गर्ने भएको छ।

महोत्सवको तयारीबारे जानकारी दिन आइतबार उद्योग वाणिज्य संघ जुम्लाले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बोल्दै संघका पदाधिकारीहरूले महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास र जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

संघका अनुसार महोत्सवमा जुम्लामा उत्पादित कृषि उपज, स्थानीय परिकार, हस्तकला सामग्री, औद्योगिक उत्पादन, व्यापारिक स्टल, पर्यटन प्रवर्द्धनका गतिविधि तथा विभिन्न सांस्कृतिक कार्यक्रम समावेश गरिनेछ। साथै स्थानीय उद्यमी, किसान, व्यवसायी तथा विभिन्न संघ–संस्थाको सहभागिता रहने जनाइएको छ।

पत्रकार भेटघाटमा महोत्सवको तयारी, व्यवस्थापन, सुरक्षा, सरसफाइ, स्टल व्यवस्थापन, सांस्कृतिक कार्यक्रम तथा आगन्तुकको सहजताका विषयमा समेत जानकारी दिइएको थियो। महोत्सवलाई जिल्लाको आर्थिक तथा पर्यटन गतिविधि विस्तार गर्ने साझा अवसरका रूपमा लिइएको संघले जनाएको छ।

उद्योग वाणिज्य संघ जुम्लाका पूर्व अध्यक्ष गोविन्दबहादुर शाहीले महोत्सव जिल्लाको साझा पहिचान र आर्थिक गतिविधिसँग जोडिएको विषय भएकाले सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए। उनले “सबै पक्षसँग समन्वय गरेर मेला आयोजना गर्ने मनोविज्ञान निर्माण गरौं। यसले महोत्सवलाई अझ प्रभावकारी, सफल र उपलब्धिमूलक बनाउँछ,” भन्ने धारणा राखे।

त्यसैगरी, नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष पूर्ण चौलागाईंले महोत्सव सफल बनाउन पत्रकार महासंघको साथ रहने प्रतिबद्धता व्यक्त गरे। उनले “यो महोत्सवलाई नेपाल पत्रकार महासंघ जुम्ला शाखाको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट पनि भव्य र सफल बनाउन निरन्तर सहयोग र सहकार्य गर्नेछौं,” भने।

यता, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला कार्यसमिति जुम्लाले पनि भदौ महिनामै बृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने घोषणा गरिसकेको छ। एउटै समयमा फरक–फरक संस्थाले महोत्सव गर्ने तयारी सार्वजनिक गरेपछि कार्यक्रमको समय व्यवस्थापन,दर्शक सहभागिता, व्यवसायिक प्रभाव तथा समन्वयका विषयमा स्थानीय स्तरमा चासो बढेको देखिएको छ।

महोत्सवमा विभिन्न राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै जुम्लाका स्थानीय कलाकारलाई पनि आफ्नो कला र प्रतिभा प्रस्तुत गर्ने विशेष अवसर प्रदान गरिने उद्योग वाणिज्य संघ जुम्लाले जानकारी दिएको छ। महोत्सवमार्फत स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस