मुगु । मुगुको सोरु गाउँपालिका–९ मा रहेको ३६ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा आएको छ। वि.सं. २०४४ सालमा निर्माण भएको उक्त पुल विगत ८ वर्षदेखि अत्यधिक जीर्ण भएर बन्द अवस्थामा रहेको थियो।
पुल बन्द हुँदा स्थानीय बासिन्दालाई गाउँपालिकाको केन्द्र सोरुकोट पुग्न घण्टौँ लामो वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। जनताको यो समस्यालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको टोलीले एक सेवामूलक अभियान मार्फत पुलको मर्मत सम्भार गरेको हो।

रास्वपा मुगुका जिल्ला भौतिक पूर्वाधार अनुगमन समिति तथा जनगुनासो केन्द्रका संयोजक नन्दबहादुर मल्लको जन्मदिनको अवसर पारेर यो अभियान चलाइएको थियो। आवश्यक सामग्रीहरू जुटाई करिब १५ जनाको टोलीले निरन्तर १० घण्टासम्म श्रमदान गरेर पुलको मर्मत कार्य सम्पन्न गरेका हुन्। पुल सञ्चालनमा आएसँगै सोरु गाउँपालिकाका ४ वटा वडाका हजारौँ नागरिकलाई आवतजावतमा ठुलो सहजता मिलेको छ।
उक्त मर्मत अभियानको नेतृत्व रास्वपा मुगुका जिल्ला सभापति बिर्खबहादुर मल्लले गर्नुभएको थियो। अभियानमा सोरु गाउँपालिका सभापति धर्मबहादुर मल्ल, पूर्व जिल्ला सभापति राजेन्द्र शाही, जिल्ला कार्यसमिति सदस्य विजय शाही, दीपकराज कार्की, जिल्ला भौतिक पूर्वाधार अनुगमन समिति संयोजक नन्दबहादुर मल्ल र उपसंयोजक विजय प्रताप मल्लको सक्रिय सहभागिता थियो।
यस्तै, जिल्ला सहसचिव तथा संगठन विभाग प्रमुख समाज हमाल, स्थानीयवासीहरू सुरज शाही, गणेशबहादुर शाही, राजेन्द्र दमाई, शिव मल्ल, चालक टेकबहादुर बिक र सहचालक प्यारीलाल कामी लगायतको श्रमदान रहेको थियो। टोलीले “जनताको समस्या समाधान भाषणले होइन, कामले हुन्छ” भन्ने सन्देश दिँदै आफ्नो जिम्मेवारी पुरा गरेको बताएको छ।
दीर्घकालीन समाधानका लागि आग्रह
श्रमदानबाट तत्कालका लागि पुल सञ्चालनमा ल्याइए पनि यसको दीर्घकालीन सुरक्षामा भने अझै चुनौती रहेको टोलीले जनाएको छ। पुलको एन्करेज (Anchorage), टावर (Tower), मुख्य केबल (Main Cable), सस्पेन्डर्स (Suspenders), डेक (Deck), डेक प्यानल (Deck Panels), ह्यान्डरेल (Handrail) र साइड वायर मेस (Side Wire Mesh) लगायतका मुख्य संरचनात्मक भागहरू अझै पनि जीर्ण अवस्थामा छन्।
त्यसैले, सम्बन्धित गाउँपालिका, प्रदेश सरकार तथा सरोकारवाला निकायले पुलको विस्तृत प्राविधिक परीक्षण गरी आवश्यक परे पुनर्निर्माण वा नयाँ झोलुङ्गे पुल निर्माणका लागि यथाशीघ्र पहल गरिदिन रास्वपा मुगु र स्थानीयवासीले हार्दिक अनुरोध गरेका छन्।




