जुम्ला । जुम्ला जिल्ला आफैमा एक पर्यटन गन्तव्य हो । जहाँ प्राकृतिक सम्पदादेखी धार्मिक, एतिहासिक तथा सांस्कृतिक महोत्व बोकेका स्थलहरु थुप्रै छन् । प्रसिद्ध चन्दननाथ भैरबनाथ, देशकै दोस्रो ठुलो स्तुपा, खष भाषा साहित्यको उद्गम स्थल सिंजा लगायत जुम्लामा थुप्रै पर्यटन गन्तव्य छन्् ।
यी गन्तव्यका अलवा जुम्लामा प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र गुठिचौर पाटन, खाली पाटन, वनस्पति उद्यान, चेरे चौर, कर्णाली प्राविधिक शिक्षालय र धिमी चौर आन्तरिक पर्यटकको रोजाई बनेका छन् । यी सबै गन्तव्यमा जुम्ला सदरमुकामबाट डेढ देखी २ घण्टाको समयमा पुगिन्छ । सबै क्षेत्रमा सहज यातायातको पहुँच पनि विस्तार भईसकेको छ । जसका कारण आन्तरिक पर्यटकलाई विदाको समयमा भ्रमण अवलोकन गर्न निकै सहज भएको छ ।
सबै पाटनमा भैसी पालन हुने र अर्गानिक खाना संगै दहीको स्वाद चाख्न पाउने भएकाले पनि आन्तरिक पर्यटक गुठिचौरदेखी धिमी पाटनमा घुम्न लोभिएका छन् । बालेन नेतृत्वको सरकारले आईतबार पनि बिदा दिने निर्णय गरेसंगै जुम्लाको आन्तरिक पर्यटन प्रर्बद्धन निकै चलायमान भएको देखिन्छ ।
यतिसम्मकी शनिवार र आईतबारको दिन गुठिचौर, खाली पाटनका होटल निकै भरिभराउ हुने गरेका छन् । होटल व्यवसायीलाइ भ्याई नभ्याई हुने गरेको छ । शनिवार र आईतबारका दिन यहाँका सबै गन्तव्यका न्युनतम २ सयदेखी २५० जना सम्म आन्तरिक पर्यटक पुग्ने गरेका छन ।
जुम्लाका पर्यटन व्यवसायी नोर्बु लामा भन्छन,‘जुम्लामा विगतमा खास्सै घुम्ने संस्कृति थिएन् । प्रायः जुम्लाका मान्छेहरु आफ्नै काममा विजी हुने गर्थे । तर पछिल्लो समय भने कामसंगै विदाको समयमा घुम्ने, रमाईलो गर्ने, साथीहरु विच खुसी साट्ने पद्धत्तीको विकास भएको छ । जसले गर्दा आन्तरिक पर्यटन निकै चलायमान भएको छ । यो निकै सकरात्मक पक्ष हो ।’
यूवा विद्यार्थी, महिला, बुढापाकाहरुका छुट्टा छुट्टै समुह बनाएर जाने, रमाउने गरिरहेका छन् । धिमी चौरमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेपछि नेपाली सेनाले व्यवस्थित प्रतिक्षालय समेत निर्माण गरेको छ । जसले गर्दा त्यहाँ पुग्ने पर्यटकलाई पानी पर्दा ओत लाग्न समेत सहज भएको छ ।
शनिवार आईतबार दिन आन्तरिक पर्यटकहरुको बढ्दो चहलपहलका कारण यातायात व्यवसायीलाइ समेत राहत भएको छ । अधिकांश पारिवारिक तथा समुहमा घुम्न जाने भएकाले गाडी रिजर्वमा जाँदा यातायात व्यवसायीहरुलाई पनि राहत भएको हो ।
पातारासीको शंकर झरना, तातोपानीको गिडिदह, तातोपानीधारा, तिलाको नदै गुफा, हिमाको रुपीछडा झरना, सिंजाको केदारनाथ, कनकासून्दरीको पाण्डगुफा, जस्ता क्षेत्रहरु समेत पर्यटक कुरि बसेका छन् । जिल्लाभरीका पर्यटन क्षेत्रमा घुमेर, यात्राका क्रममा थाकेर तातोपानी धारालाई स्नान गरी फ्रेस हुने ठाउँका रुपमा लिएका छन् । जसका कारण चिसो बढेसंगै बिदाको समयमा तातोपानीमा पनि ठुलो भीड लाग्ने गरेको छ ।
साउन–भदौमा यहाँ फक्रिने जंगली फूल, घना जंगल र खुला फाँटले पर्यटकलाई लोभ्याउँईरहेको छ । केही वर्षयता सडकको पहुँच, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार र स्वदेशमै घुमफिर गर्ने लहरले पाटनमा पर्यटकको चहलपहल बढेको छ ।
स्थानीय होटल, होमस्टे, यातायात, कृषि तथा पशुपालनमा सकारात्मक प्रभाव देखिन थालेको छ । रमणीय पाटनमा पुगेपछि जोकोही लोभिने गर्छन् । तर, त्यहाँसम्म पुग्नै चुनौती छ । यदपी, पर्याप्त पूर्वाधार र व्यवस्थित पदमार्ग अभाव, शौचालय, सूचना केन्द्र र सुरक्षित विश्रामस्थल नहुँदा समस्या छ ।
खलंगा बजार हुँदै राराताल जाने क्रममा भेटिने खालीपाटनको सुन्दरता देखेर त्यहाँ रोकेर फोटो नखिचाउने साहेतै कम मान्छे होलान् । डोल्पाको सेफोक्सण्डो घुम्न हिडेको मान्छे गुठिचौर पाटनमा पुगेपछि निकै आनन्द महसुश गर्छ ।
‘खासमा कर्णालीबासीले राराताल, फोक्सण्डोलाई देखाएका छौ’,‘गुठिचौरका होटल व्यवसायी चित्र बुढा भन्छन,‘खास जिल्लाभित्रका पर्यटन गन्तव्यको प्रर्बद्धन गरेमा पनि आर्थिक आम्दानी, रोजगारी सृजनाको प्रशस्त सम्भावना छ । आबश्यक पूर्वाधार, ठोस नीति र प्रचार प्रशारकै अभावले नजिकको तिर्थ हेला जस्तै भएको हो । अब आन्तरिक पर्यटन प्रर्बद्धनमा स्थानीय सरकारले विशेष रुपमा लगानी बढाउन जरुरी देखिएको छ ।’
नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले जिल्लाका भरीका पर्यटन गन्तव्यमा आन्तरिक पर्यटक भरिनु सुखद पक्ष भएपनि फोहोर व्यवस्थापन निकै चुनौती भएको बताए । घुम्न जाने कुहीने नकुहिने फोहोर जथाभावी रुपमा फाल्ने सफा नगर्ने प्रबृत्ती समस्याले प्राकृतिक सुन्दरता ढिलो चाडो कुरुप हुन सक्ने जोखिम रहेकोमा जोड दिए । सबै पर्यटन क्षेत्रमा विहान गएर साँझ घर फर्किन सकिने, बाटोको सहज पहुँच भएका कारण पनि पछिल्लो निकै घुईचो लागेको देखिन्छ । यसले पर्यटन प्रर्बद्धनसंगै आर्थिक गतिविधि समेत चलायमान भएको व्यवसायीहरु बताउँछन् ।




