पशुमा अज्ञात रोगको प्रकोप: मुगुको निगाल्या गाउँ का गाईगोरु मर्न थालेपछि कृषक चिन्तित

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ३ निगाल्या गाउँमा अज्ञात रोगका कारण गाईगोरु मर्न थालेपछि स्थानीय कृषकहरू गम्भीर चिन्तामा परेका छन् । गएको एक हप्ताभित्र मात्रै स्थानीय ले गाई गोरु राख्दै आएको पामे लेक खर्क म तर्फ लगिएका ५ वटा गाईगोरु मरिसकेका छन् भने अन्य धेरै पशुहरू बिरामी परेका छन् ।

छायाँनाथ रारा नगरपालिका वडा नं. ३ का वडा सदस्य बाँच्या विक का अनुसार गाउँका गाईगोरुमा अचानक अनौठो रोगको लक्षण देखि परेको हो । बिरामी पशुहरूमा पछाडिका खुट्टाका पाटाहरू सुन्निने, शरीरमा साना–ठूला फोकाहरू देखिने, अत्यधिक मात्रामा ज्वरो आउने र घाँसपात पूर्ण रूपमा खान नस्कने जस्ता कडा लक्षणहरू देखा परेका छन् ।

खर्कमा पशुहरू मर्न थालेपछि उपचारका लागि बिरामी गोरुलाई गाउँमा झारिएको थियो । रोगको पहिचान र उपचारका लागि मुगु जिल्लास्थित पशु अस्पताल तथा पशु सेवा कार्यालय (भेटेरिनरी) मा बुझ्न जाँदा डाक्टरहरूले रोगको यकिन लक्षण पत्ता नलागेको र औषधि समेत नआएको भन्दै फर्काएको वडा सदस्य विकले दुखेसो पोख्नुभयो ।

कृषकहरूले आफ्ना बिरामी पशु बचाउन जिल्ला पशु स्वास्थ्य कार्यालयमा गाईगोरु वस्तुलाई लिए पनि सम्बन्धित निकायले रोग पत्ता नलागेको बहाना बनाउँदै आलटाल गरिरहेको आरोप लगाएका छन् । बेलैमा रोगको पहिचान र औषधिको व्यवस्था हुन नसके महामारी फैलिएर अझै धेरै गाईगोरु मर्न सक्ने र कृषकले ठूलो आर्थिक क्षति ब्यहोर्नुपर्ने रवउच्च जोखिम देखिएको छ ।

पशुपालन नै जीविकोपार्जनको मुख्य माध्यम रहेको यस क्षेत्रका कृषकहरूले तत्काल प्राविधिक टोली खटाएर रोगको पहिचान गर्न र औषधिको प्रबन्ध मिलाइदिन सम्बन्धित सरकारी निकाय तथा सरोकारवालासँग जोडदार माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस