जुम्ला । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत ग्याजुयट स्कूल अफ इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ विभागमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक गुणस्तर, आधारभूत सुविधा तथा विद्यार्थीमैत्री वातावरणको माग गर्दै विभागीय प्रमुखसमक्ष ८ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्। विद्यार्थीहरूले हाल विभागमा देखिएका विभिन्न शैक्षिक तथा प्रशासनिक समस्याले अध्ययन–अध्यापन प्रभावित भएको जनाउँदै ती समस्या तत्काल समाधान गर्न माग गरेका हुन्।
विद्यार्थीहरूले सबैभन्दा पहिलो मागका रूपमा कक्षा सञ्चालनको समय बिहान (मर्निङ सिफ्ट) मा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। हाल बिहानदेखि साँझसम्म कलेजमै बस्नुपर्ने व्यवस्था व्यावहारिक नभएको उनीहरूको भनाइ छ। धेरै विद्यार्थीले व्यक्तिगत, पारिवारिक तथा आर्थिक जिम्मेवारीसमेत बहन गर्नुपर्ने भएकाले बिहानको समयमा कक्षा सञ्चालन भए अध्ययनसँगै अन्य जिम्मेवारी पूरा गर्न सहज हुने उनीहरूको तर्क छ।
ध्यानाकर्षणपत्रमा विभागमा नियमित रूपमा कक्षा सञ्चालन नहुने, निर्धारित कक्षा तालिका प्रभावकारी रूपमा कार्यान्वयन नहुने तथा पठनपाठनमा अनियमितता देखिएको उल्लेख गर्दै नियमित र व्यवस्थित शैक्षिक गतिविधिको सुनिश्चितता गर्न माग गरिएको छ। साथै, शिक्षकहरूले तोकिएको समयमै कक्षा सञ्चालन गर्नुपर्ने र नियमित रुटिन कार्यान्वयन गर्नुपर्ने मागसमेत गरिएको छ।

विद्यार्थीहरूले खेलकुद सामग्री वितरणमा पनि विभेद भएको गुनासो गरेका छन्। परीक्षा वा अन्य कारणले असफल भएका विद्यार्थीलाई खेलकुद सामग्री उपलब्ध नगराउन निर्देशन दिइएको भन्ने जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि विद्यार्थीलाई शैक्षिक नतिजाका आधारमा अतिरिक्त क्रियाकलापबाट वञ्चित गर्न नहुने बताएका छन्। आवश्यक खेलकुद सामग्री सबै विद्यार्थीलाई सहज रूपमा उपलब्ध गराउन उनीहरूले माग गरेका छन्।
विश्वविद्यालयको गैरनाफामूलक चरित्रअनुसार विद्यार्थीमाथि अनावश्यक आर्थिक भार नथोपर्न पनि उनीहरूले आग्रह गरेका छन्। विशेषगरी विश्वविद्यालयको बस सेवाको भाडा वृद्धि गर्ने प्रयासप्रति असन्तुष्टि जनाउँदै भाडा नबढाई सुरक्षित र सहज यातायातको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
बसमा क्षमताभन्दा बढी विद्यार्थी राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले डबल सिफ्ट वा थप सवारीसाधनको व्यवस्था गर्नुपर्ने विद्यार्थीहरूको भनाइ छ।




