मुगुमा हिर्मोदय माविको आठ कोठे नवनिर्मित भवन उद्घाटन

मुगु ।  मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित हिर्मोदय माध्यमिक विद्यालय, बामको नवनिर्मित आठ कोठे दुईतले विद्यालय भवन शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ।

छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको भवन नगर प्रमुख विष्णुकुमार भामले उद्घाटन गरेका हुन्। भवन सञ्चालनमा आएपछि विद्यालयमा लामो समयदेखि रहेको पर्याप्त कक्षाकोठाको अभाव हटेको छ भने विद्यार्थीहरूले सुरक्षित, फराकिलो र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर पाएका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख भामले गुणस्तरीय शिक्षा प्रदान गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताए। नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विद्यालय भवन, खानेपानी, शौचालय तथा अन्य शैक्षिक पूर्वाधार निर्माणमा निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै उनले बालबालिकालाई सुरक्षित र सुविधासम्पन्न शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले यस्ता योजनालाई प्राथमिकता दिइएको बताए।

वडा नं. १४ का अध्यक्ष जुनबहादुर खड्काले नयाँ विद्यालय भवनले दुर्गम क्षेत्रका विद्यार्थीलाई सुरक्षित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरे। उनले भौतिक पूर्वाधारसँगै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको बताए।

छायाँनाथ रारा नगरपालिका शिक्षा शाखा प्रमुख बिकेन्द्र बिकले स्थानीय सरकारको लगानीमा निर्माण भएका शैक्षिक पूर्वाधारले समुदायमा शिक्षाप्रति सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै विद्यालयको समग्र शैक्षिक सुधारका लागि नगरपालिकाको सहयोग निरन्तर रहने बताए।

नगरपालिकाका अनुसार मालिका आधारभूत विद्यालय (सेतिवाडा), सरस्वती आधारभूत विद्यालय (बालै) र हिर्मोदय माध्यमिक विद्यालय (बाम) का भवन निर्माणका लागि रु. १ करोड ६३ लाख २४ हजार ५०० बजेट विनियोजन गरिएको थियो। उक्त निर्माण कार्य के.टि.एस.–जे.भि. एन.बि.ए. कन्स्ट्रक्सनले तोकिएको मापदण्डअनुसार सम्पन्न गरेको जनाएको छ।

नयाँ भवन सञ्चालनमा आएपछि विद्यार्थी, शिक्षक तथा अभिभावकमा उत्साह छाएको हिर्मोदय माध्यमिक विद्यालय, बामका प्रधानाध्यापक शोभानसिंह बडुवालले बताए। उनका अनुसार पर्याप्त कक्षाकोठा उपलब्ध भएपछि पठनपाठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहज भएको छ।

स्थानीय अभिभावकहरूले पनि नयाँ भवन निर्माणप्रति खुसी व्यक्त गरेका छन्। स्थानीय अभिभावकहरूले विगतमा आफ्ना बालबालिकाले साँघुरा र जीर्ण कक्षाकोठामा अध्ययन गर्नुपरेको समस्या अन्त्य भएको बताउँदै अब सुरक्षित र सुविधासम्पन्न वातावरणमा शिक्षा हासिल गर्न पाउने विश्वास व्यक्त गरे। साथै, विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक सामग्री, पुस्तकालय, सूचना प्रविधि, विज्ञान प्रयोगशाला तथा दक्ष शिक्षक व्यवस्थापनमा समेत छायाँनाथ रारा नगरपालिकाले निरन्तर ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस