जुम्ला । जुम्लाको तिला गाउँपालिकाले काँचो तथा अपरिपक्व स्याउ जिल्ला बाहिर जान नदिन निगरानी तथा गुणस्तर परीक्षणलाई कडाइ गरेको छ। स्याउको मुख्य सिजन सुरु भएसँगै समयअगावै टिपेर सुर्खेत, नेपालगन्जलगायतका बाहिरी बजारमा लैजान खोजिएका स्याउ बोकेका तीनवटा गाडी तिला गाउँपालिकाको राराचौकीमा रोकिएका छन्।
पछिल्लो तीन–चार दिनको अवधिमा राराचौकीमा रोकिएका तीनवटा गाडीमा लोड गरिएका स्याउ कृषि प्राविधिकमार्फत परीक्षण गर्दा तत्काल बजारमा पठाउन उपयुक्त नभएको पाइएको हो। परीक्षणका क्रममा स्याउ पूर्ण रूपमा परिपक्व नभएको र अझै केही दिन बोटमै राखेर मात्र टिप्न उपयुक्त हुने देखिएपछि ती गाडीलाई तत्काल जिल्ला बाहिर पठाउन रोक लगाइएको तिला गाउँपालिकाको कृषि शाखाले जनाएको छ।
तिला गाउँपालिका कृषि शाखा प्रमुख राजेश विश्वकर्माका अनुसार आवश्यक जानकारी नदिई तथा तोकिएको समयभन्दा अगावै स्याउ टिपेर जिल्ला बाहिर लैजान खोजिएपछि गाडी रोकिएको हो।
“पछिल्लो तीन–चार दिनयता जानकारी नदिई स्याउ टिपेर सुर्खेत र नेपालगन्ज लैजान खोजिएको पाइयो। त्यसैले राराचौकीमा गाडी रोकेर स्याउ परीक्षण गरेका हौँ,” कृषि शाखा प्रमुख विश्वकर्माले भने।
उनका अनुसार राराचौकीमा रोकिएका गाडीमध्ये एउटा गाडी हिजो, एउटा अस्ति र अर्को त्यसअघिको दिनदेखि रोकिएको हो। गाडीमा लोड गरिएका स्याउको प्रारम्भिक परीक्षण गर्दा अझै केही दिन राखेर मात्र बजारमा पठाउनुपर्ने अवस्था देखिएको उनले बताए।
“परीक्षण गर्दा अझै केही दिन राख्नुपर्ने देखियो। त्यसैले तत्काल बाहिर पठाउनुभन्दा केही दिन राखेर मात्र बजार पठाउनु उपयुक्त देखिएको छ,” उनले भने
काँचो स्याउ बजारमा जान नदिन तिला गाउँपालिकाको कृषि शाखाले राराचौकीमा गाडी रोक्ने मात्र नभई किसानका बगैंचामै पुगेर स्याउको अवस्था परीक्षण तथा अनुगमनसमेत गरिरहेको छ। कृषि शाखा प्रमुख विश्वकर्माको नेतृत्वमा कृषि प्राविधिकसहितको टोलीले विभिन्न क्षेत्रमा रहेका स्याउ बगैंचामा पुगेर स्याउको परिपक्वता, गुणस्तर तथा बजारमा पठाउन योग्य भए–नभएको परीक्षण गरिरहेको छ।
बगैंचामा गरिएको परीक्षणका क्रममा पनि कतिपय स्थानमा स्याउ अझै पूर्ण रूपमा परिपक्व नभएको पाइएको कृषि शाखाले जनाएको छ। स्याउको आकार ठूलो हुँदैमा मात्र बजारमा पठाउन योग्य नहुने भन्दै कृषि शाखाले आवश्यक गुलियोपना, रङ, स्वाद तथा अन्य गुणस्तरीय मापदण्ड पूरा भएपछि मात्रै स्याउ टिप्न किसानलाई आग्रह गरेको छ।
कृषि शाखा प्रमुख विश्वकर्माले किसानलाई हतारमा स्याउ नटिप्न र परिपक्व भएपछि मात्रै बजारमा पठाउन सुझाव दिएका छन्। उनका अनुसार समय नपुग्दै टिपिएका स्याउ बाहिरी बजारमा पठाउँदा किसानले तत्काल आम्दानी गर्न सक्ने भए पनि त्यसले जुम्लाको स्याउको समग्र गुणस्तरमा असर पार्न सक्छ।
“काँचो स्याउ बाहिरी बजारमा पठाउँदा जुम्लाको स्याउको गुणस्तर र ब्रान्डमै असर पर्न सक्छ। अहिले केही दिन कुर्दा किसानले अझ राम्रो र गुणस्तरीय उत्पादन बजारमा पठाउन सक्छन्,” उनले बताए।
तिला गाउँपालिकाको कृषि शाखाका अनुसार राराचौकीमा रोकिएका तीनवटा गाडीमध्ये केही स्याउ तिला गाउँपालिकाका किसानको उत्पादन भए पनि अधिकांश स्याउ चन्दननाथ नगरपालिकाबाट ल्याइएको प्रारम्भिक परीक्षणबाट खुलेको छ।
जुम्लाका विभिन्न क्षेत्रबाट स्याउ संकलन गरेर समयअगावै जिल्ला बाहिर लैजाने क्रम बढेपछि तिला गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने राराचौकी नाकामा निगरानी बढाएको हो। विशेषगरी सुर्खेत, नेपालगन्जलगायतका बजारमा स्याउको माग बढ्ने समयलाई लक्षित गर्दै केही किसान तथा व्यापारीले काँचो स्याउ टिपेर बाहिरी बजारमा पठाउने प्रयास गर्ने गरेको कृषि शाखाको भनाइ छ।
समय नपुग्दै टिपिएका स्याउ बाहिरी बजारमा पुगेमा जुम्लाको स्याउप्रति उपभोक्ताको विश्वास घट्न सक्ने र बजारमा जुम्लाको स्याउको पहिचानमा समेत असर पर्न सक्ने भएकाले गाउँपालिकाले कडाइ गरेको हो।
जुम्लामा स्याउ उत्पादनको मुख्य सिजन सुरु भएसँगै परिपक्व हुनुअघि नै स्याउ टिपेर जिल्ला बाहिर पठाउने प्रवृत्ति स्थानीय तहका लागि चुनौती बन्दै गएको छ। यही समस्या समाधान गर्न केही समयअघि जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको सर्वपक्षीय बैठकले स्याउ टिप्ने समयसमेत निर्धारण गरेको थियो।
बैठकको निर्णयअनुसार तिला गाउँपालिकामा भदौ ५ गतेदेखि स्याउ टिप्न सुरु गर्न सकिने व्यवस्था गरिएको छ। जिल्लाका अन्य स्थानीय तहमा भने भदौको दोस्रो हप्तादेखि मात्रै स्याउ टिप्ने व्यवस्था गरिएको छ।
तर तोकिएको समयअघि नै स्याउ टिपेर बाहिरी बजारमा पठाउने प्रयास हुन थालेपछि स्थानीय तहले निगरानी बढाएका छन्। राराचौकीमा तीनवटा गाडी रोकिएपछि समयअगावै स्याउ बजारमा पुर्याउने प्रयासप्रति थप प्रश्नसमेत उठेको छ।
कृषि शाखाले किसान तथा व्यापारीलाई गाउँपालिका र जिल्लास्तरमा गरिएको निर्णयको पालना गर्न आग्रह गरेको छ। तोकिएको समयअघि स्याउ टिप्दा उत्पादन पूर्ण रूपमा परिपक्व नहुने, स्वाद तथा गुलियोपना कम हुने र बजारमा जुम्लाको स्याउको गुणस्तरबारे नकारात्मक धारणा बन्न सक्ने कृषि शाखाको भनाइ छ।
तिला गाउँपालिकाले यस वर्ष जुम्लाको पहिचानका रूपमा रहेको स्याउको गुणस्तर कायम राख्दै किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले स्याउ टिप्ने तथा बजारमा पठाउने प्रक्रियालाई व्यवस्थित बनाउन थालेको जनाएको छ।
गाउँपालिकाले गुणस्तरीय र परिपक्व स्याउ मात्रै बाहिरी बजारमा पठाउने तथा काँचो र अपरिपक्व स्याउको बिक्री–वितरणलाई निरुत्साहित गर्ने नीति लिएको छ। त्यसका लागि कृषि शाखाले किसानका बगैंचामा पुगेर स्याउको अवस्था हेर्नुका साथै आवश्यक प्राविधिक सुझावसमेत दिइरहेको छ।
कृषि शाखाका अनुसार स्याउको गुणस्तर कायम राख्न किसान, व्यापारी, संकलनकर्ता तथा सम्बन्धित सबै पक्षले निर्धारित समय र मापदण्डको पालना गर्न आवश्यक छ। किसानले पनि तत्कालको आम्दानीभन्दा आफ्नो उत्पादनको दीर्घकालीन बजार र मूल्यलाई ध्यान दिनुपर्ने कृषि शाखाको आग्रह छ।
जुम्लाको स्याउ देशका विभिन्न सहरमा लोकप्रिय बन्दै गएको अवस्थामा काँचो स्याउ बजारमा पठाउँदा जिल्लाको स्याउको ब्रान्डमै असर पर्न सक्ने भएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्ने कृषि शाखा प्रमुख विश्वकर्माले बताए।
उनका अनुसार बगैंचामै स्याउ परीक्षण तथा अनुगमन गर्दा किसानले आफ्नो स्याउ टिप्ने उपयुक्त समयबारे प्राविधिक जानकारी पाउनेछन्। यसले गुणस्तरीय स्याउ उत्पादन र बजार व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तिला गाउँपालिकाले आगामी दिनमा पनि स्याउ बगैंचाको अनुगमन, परीक्षण तथा बाहिरी बजारतर्फ जाने स्याउको निगरानीलाई निरन्तरता दिने जनाएको छ। गाउँपालिकाको यो कदमले समयअगावै स्याउ टिप्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै जुम्लाको स्याउको गुणस्तर र बजारमा रहेको पहिचान जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




