बालबालिका क्षेत्रमा निरन्तर लगानी बढाउदैँ तातोपानी

बालकेन्द्रित बजेट विष्लेषण अन्तरक्रिया

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिकाले बालबालिकाका क्षेत्रमा लगानी बढाउदै लिएको छ । विगतका वर्षको तुलनामा पछिल्ला तीन आर्थिक वर्षको बजेटलाई हेर्दा बालबालिकाको विकासका लागि लगानी बढाएको देखिन्छ ।

बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण,सहभागिता, संरक्षण, विकास लगायतका क्षेत्रमा पालिकाले लगानी बढाउदै लिएको तथ्यांकले देखाएको छ । तातोपानीमा शिक्षा र बालबालिका केन्द्रित सेभ द चिल्ड्रेनको सहयोगमा किर्डाक नेपालद्धारा संचासलित सहयात्रा तेस्रो परियोजना संचालन पश्चात तातोपानीमा बालबालिका क्षेत्रमा उल्लेखीय लगानी बृद्धि संगै बजेट विश्लेषण समेत हुदै आएको छ ।

तीन आर्थिक वर्षको मात्रै बालबालिका केन्द्रित पुँजीगत बजेट विनियोजन तथा खर्च विश्लेषण गर्दा तातोपानीले उल्लेखीय लगानी गरेको देखिन्छ । जसमा आर्थिक वर्ष २०८०÷०८१ मा कुल पुँजीगत बजेट १७ करोड ८२ लाख ५६ हजार हुँदा बालिबाका क्षेत्रमा ३ करोड ४५ लाख ९४ हजार ४३८ रुपैयाँ विनियोजन गरिएको थियो । जुन कुल विकास बजेटको १९.४१ प्रतिशत हो ।

आव २०८१÷०८२ मा पुँजीगत तर्फ १७ करोड ४३ लाख १५ हजार विनियोजन भएकोमा बालबालिका क्षेत्रमा ४ करोड ३३ लाख ५१ हजार ९२९ रुपैयाँ अर्थात २४.८७ प्रतिशत छुट्याइएको थियो । एकै वर्षमा पाँच प्रतिशतले बालबालिका क्षेत्रमा लगानी बढेको तथ्यांकलेनै देखाएको छ ।

साथै गत आर्थिक वर्ष २०८२÷०८३ मा पुँजीगत तर्फ १९ करोड ७० लाख २६ हजार विनियोजन हुँदा एक करोडले बढेर ५ करोड ४८ लाख ८६ हजार ८४० अर्थात २७.८५ प्रतिशत बालबालिकाको क्षेत्रमा तातोपानीले लगानी गरेको छ ।

बाल बचाउ, बाल संरक्षण,बाल विकास, बाल सहभागिता, संस्थागत विकास र बालमैत्री भौतिक संरचना गरी बालबालिका मुख्य क्षेत्रगत शिर्षकमा समेत उल्लेखीय लगानी भएको बजेट विश्लेषण प्रतिवेदनमा उल्लेख छ ।

तीन आर्थिक वर्षको तथ्य मात्र हेर्ने हो भने पनि करोडका हिसाबले बालबालिकाका क्षेत्रमा लगानी बढ्दै गएको छ । सोही आधारमा तातोपानी गाउँपालिका वडा नं. ५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । भने वडा नं. ३ र ५ लाई यसै वर्षभित्र बालमैत्री स्थानीयशासन वडा घोषणा अभियान पनि चलिरहेको छ ।

घोषणाका ५१ सूचक पूरा गर्न गाउँगाउँमा अभियान संचालित छ ।
जिल्लाका अन्य पालिका भन्दा बालबालिका, शिक्षा, दिवा खाजा, पूर्वाधार विकास र सुशासनमा उल्लेखीय लगानी र काम गरिरहेको तातोपानीलाई सहयात्रा तेस्रो परियोजनाले पनि पूलको काम गरिरहेको छ ।

सामुदायिक विद्यालय र शैक्षिक अबस्था सुधार तथा बालबालिकाको हरेक पक्षको विकासका निम्ती पालिकाको समन्वयमा करोडौ लगानी भईरहेको सहयात्रा तेस्रो परियोजना परियोजना संयोजक प्रकाश शाहीले बताए । विहिबार बालबालिका केन्द्रित बजेट विष्लेषण कार्यक्रम गरी चालु आवको बजेटमा बालबालिकाका सवाल प्रथामिकताका विषयमा गहन छलफल भएको बताए ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बालबालिका क्षेत्रको विकासका लागि अझै बजेटको कन्जुसाई नगरिने बताए । यदपी, लगानी अनुसारको उपलब्धी हासिल भए नभएको गम्भीर समिक्षा गर्नुपर्ने बेला आएको उनको भनाई छ ।‘अहिले पनि पालिकामा सडक बालबालिका छन् ।


शिक्षाबाट थुप्रै बन्चित भएको स्थिती छ । तर हाम्रो लगानी बढीरहेकै छ’अध्यक्ष चौलागाईले भने,‘अब लगानी मात्र बढाउने होईन उपलब्धी खोज्ने र संस्थागत गर्ने हो । सेवा प्रवाहदेखी, पूर्वाधारसबै बालमैत्री बनाउने कुरामा सबै जिम्मेवार बनौ । बालमैत्री पालिकाको परिचय पनि स्थापित गरौ ।’

एकै महिला तथा बालबालिका शाखाको शिर्षकगत बजेट हेरेर बालबालिकामा न्युन बजेट भएको टिप्पणी नगरी बालबालिका केन्द्रित शिक्षा, स्वास्थ्य, पोषण, कृषि, खानेपानी, सिँचाई, विद्यालय भवनमा भएको लगानीलाई पनि बालबालिकाकै लागि हो भन्ने बुझाई सबैको हुनुपर्नेमा समेत अध्यक्ष चौलागाँईले जोड दिए ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस