जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिकाले स्थानीय विपद् र उत्थानशील योजना बनाउन थालेको छ । प्राकृतिक प्रकोप र त्यसबाट हुन विपद जोखिम न्युनिकरण तथा जलवायू परिवर्तनका कारण परेको असर तथा अनुकूलनका लागि उत्थानशील योजना बनाउन लागेको हो ।
प्राकृतिक प्रकोप र त्यसबाट उत्पन्न हुने विपद्का दृष्टीले चन्दननाथ नगरपालिका उच्च जोखिममा रहेकाले प्रतिकार्य, पूर्वतयारी तथा राहत पुर्नस्थापना र पुर्ननिर्माणको ठोस योजना तर्जुमामा नगरपालिका जुटेको छ ।
शुक्रबार नगरपालिकामा स्थानीय विपद र जलवायू उत्थानशील कार्यढाचाँ तर्जूमा बैठक सम्पन्न भएको छ । बैठकमा नगरपालिकाभित्रका सम्भावित प्रकोप पहिचान, विपद व्यवस्थापनको तयारी, प्रतिकार्यमा भएका अभ्यासका विषयमा छलफल गरिएको थियो ।
नगरपालिकाको स्थानीय विपद् र जलवायू उत्थानशील योजना निर्माण गर्न किर्डाक नेपालले प्राविधिक सहयोग गरिरहेको छ । किर्डाक नेपालले परामर्शदाता बोलाएर नगरपालिकाको विपद् प्रतिकार्य योयना बनाउने तयारी भएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक शिवराज कार्मीले बताए ।
नगरपालिकाका १० वटै बाढी पहिरो, चट्यांङ, आगलागी, हावाहुरी, असिना, खडेरी, सडक दुर्घटना, फोहोर मैला, मापदण्ड विपरित भवन लगायतका विपद्को उच्च जोखिममा रहेको छ । मानवीय तथा प्राकृतिक प्रकोपका कारण हुन सक्ने जनधनको क्षतिलाई हुन नदिन सुरक्षित नगर बनाउन स्थानीय विपद् तथा जलवायू उत्थानशील योजना बनाउन लागिएको चन्दननाथ नगरपालिका वडा नं. ६ का अध्यक्ष रवि थापाले बताए ।
‘विगतमा पनि थुप्रै योजना नगरपालिकाले निर्माण गरेको छ’,उनले भने,‘पछिल्ला वर्षमा जलवायू परिवर्तनका कारण छोटो समयमा धेरै वर्षात हुने, बेमौसमी वर्षा हुने जस्ता समस्याले बाढी पहिरोको जोखिम छ । पालिकाहरु राहत वितरण केन्द्रित मात्रै भयौ । अब जोखिमनै हुन नदिने, नागरिकलाई सुरक्षित बनाउने योजना बनाउन आबश्यक छ । थरीथरीका कार्यान्वयन नहुने योजना बनाउनु भन्दा एउटै कार्यान्वयनमुखी विपद तथा जलवायू उत्थानशील योजना बनाउन जरुरी छ ।’
जलवायू परिवर्तन अनूकुलनका गतिविधि बढ्न समग्र कृषि क्षेत्र प्रभावित भएको छ । डोजरे विकासले विनास निम्त्याई रहेको स्थिती छ । जलवायूमैत्री विकास तथा खेतीपाती गर्न र उत्पादन बढाउनका लागि ठोस योजनालाई अत्याआबश्यक पर्छ ।
चन्दननाथका शिक्षा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाँई भन्छन,‘२०७२ को भुकम्पपछि नेपालमा सरकारी तथा नीजि घर भवन बनाउँदा भवन निर्माण आचारसंहिता कार्यान्वयन अनिवार्य भनेपनि कार्यान्व्यन भएको छैन् । धेरै विद्यालय, स्वास्थ्य चौकी भवनहरु जीर्ण छन् । सरकारी भवनहरुनै मापदण्डमा छैनन् । यसले भविष्यमा विपद निम्त्याउन सक्छ । यो योजना बनाईसकेपछि कार्यान्वयनमा कडाई गर्न आबश्यक छ । अन्यथा विपद् जोखिम न्युनिकरण निकै मुस्किल छ ।’
परार्शदाताले नगरपालिकाले १० वटै वडा र जोखिमका दृष्टीले सम्भावित गाउँ बस्तीमा समेत पुगेर सुझाव संकलन गर्दै एकिकृत विप्द जोखिम न्युनिकरण तथा जलवायू उत्थानशील योजना बनाउने तयारी गरेको छ ।




