राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहत कार्यको पछिल्लो विवरण सार्वजनिक गरेको छ । प्राधिकरणको ०८३ भदौ १५ गते बिहान ९ बजेसम्मको अद्यावधिक तथ्यांक अनुसार बाढी तथा त्यसपछिका घटनामा परी ९ सय ३ जनाको मृत्यु भएको छ भने ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन रहेका छन् ।
प्राधिकरणका अनुसार शव फेला परेका स्थानमध्ये नवलपरासी पूर्वमा २ सय ७, चितवनमा विभिन्न मानव अङ्ग सहित २ सय ७२, गोरखामा ६२, धादिङमा ५५, रसुवामा २४, नुवाकोटमा ९५, नवलपरासी पश्चिममा १ सय ५१ र तनहुँमा ३७ जनाका शव फेला परेका छन् ।
सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बलका १३ जना भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ३ जना, जलविद्युत् आयोजनाका ९ सय ३३ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना कर्मचारीहरु रहेका छन् ।
त्यस्तै रसुवामा ८ सय ६५ जना, नुवाकोटमा १ हजार ५ सय ५८ जना, मकवानपुरबाट ६५ जना, विदेशी नागरिक ५ सय १२ जना तथा विदेशी पर्यटकसँग घुम्न गएका नेपाली १ सय २७ जना सम्र्कविहीन रहेको प्राधिकरणले जनाएको छ । हालसम्म बाढी प्रभावित क्षेत्रबाट १० हजार ४५१ जनाको उद्धार गरिएको छ । सेनाद्धारा अवाइ उद्धार गरिएकामध्ये ३ हजार ३ सय ४४ नेपाली र २ सय ५२ विदेशी नागरिक रहेका छन् । उद्धारका लागि हालसम्म ४ सय ११ वटा हवाई उडान सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ।
बाढीमा परी २ सय ६७ जना घाइते भएका छन् । घाइतेमध्ये १ सय ५६ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टोली परिचालन गरिएको छ ।
खोज तथा उद्धार कार्यमा २० हजार ८ सय १९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ८ सय ९४, नेपाली सेनाका ८ हजार ७ सय २२ तथा सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् ।
सरकारले बाढी प्रभावित क्षेत्रका लागि नगद राहतस्वरूप रसुवालाई १ करोड रुपैयाँ, नुवाकोटलाई १ करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । साथै प्रभावित १५ स्थानीय तहलाई कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको जनाइएको छ ।
प्राधिकरणका अनुसार पहिचान नखुलेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको छ । पहिचान नखुलेका शव तथा सम्पर्कविहीन व्यक्तिको विवरण सम्बन्धित निकायका आधिकारिक माध्यमबाट सार्वजनिक भइरहेको जनाएको छ ।




