जुम्ला । इसाई समाज जुम्लाले बाढीपीडितका लागि एक लाख रुपैयाँ राहत सहयोग गरेको छ। बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले इसाई धर्मावलम्बीहरूले आफ्नो एक छाकको खर्च कटाएर रकम सङ्कलन गरेका हुन्।
समाजका सदस्यहरूले स्वेच्छिक रूपमा सङ्कलन गरेको एक लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजले जनाएको छ। उक्त रकम बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा प्रयोग हुने अपेक्षा गरिएको छ।
राहत रकम कोषमा जम्मा गरिएको जानकारी जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई समेत गराइएको छ। विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएकाले आफूहरूले सकेको सहयोग गरेको समाजले जनाएको छ।
प्रकाशित मिति : २०८३ भाद्र ३० गते मङ्गलवार




