जुम्लाका करिव १३ सय छात्रालाई एचपिभी खोप लगाईदै

साक्षरता घोष्णा गरिएको जिल्लाका ३५ जना छात्रा विद्यालयबाहिर, कनकासुन्दरीका सवै भन्दा बढी १७ जना छात्रा

जुम्ला – जुम्लाको एक नगरपालिका र ७ गाउँपालिकामा करिव १३ सय छात्रालाई पाठेघर मुखको क्यान्सर विरुद्ध (एचपिभी) खोप लगाउन थालिएको छ । असोज ५ र ६ गते यहाँका ८४ खोप केन्द्रमा कक्षा ६ अध्ययन छात्रा एक हजार २५७ जना र विद्यालय नजाने १० वर्ष उमेर समुहका ३५ जना छात्रा गरी एक हजार २९२ जना छात्रालाई एचपिभी खोप लगाउन थालिएको हो ।


जनस्वास्थ्य कार्यालय सेवा जुम्लाका प्रमुख किरण शर्माका अनुसार असोज ५ र ६ गते सञ्चालन हुने पाठेघर मुखको क्यान्सर विरुद्ध (एचपिभी) खोप अभियानको तयारी पुरा भएको छ । एचपिभी खोप सञ्चालन गर्न चन्दननाथ नगरपालिकामा सवै भन्दा बढी १७ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।


यसैगरी पातारासीमा १२ वटा, तिलामा ९ वटा र गुठीचौरमा ६ वटा एचपिभी खोप केन्द्र निर्धारण गरिएको छ । तातोपानी, कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा ८÷८ वटा खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।


एचपिभी खोप लगाउने छात्रा चन्दननाथमा २४९ जना, तातोपानीमा १८९ जना, गुठीचौरमा ११५ जना, पातारासीमा १९६ जना, तिलामा १९६ जना, तिलामा १४७ जना, हिमामा १२० जना, सिंजामा ११८ जना र कनकासुन्दरीमा १२३ जना रहेका छन् ।


३५ जना छात्रा विद्यालयबाहिर
एचपिभी खोल लगाउने तथ्यांकले अर्काे प्रश्न जन्माएको छ । शतप्रतिशत साक्षरता घोषणा गरिएको जिल्लामा १० वर्ष उमेर समुहका ३५ जना छात्रा विद्यालयबाहिर रहेको तथ्यांक देखिएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले विद्यालय नजाने १० वर्ष उमेर समुहका ३५ जना छात्रालाई एचपिभी खोप लगाउने तयारी गरेको छ ।


विद्यालय नजाने १० वर्ष उमेर समुहका छात्रा सवै भन्दा बढी १७ जना कनकासुन्दरी गाउँपालिकामा रहेका छन् । यसैगरी पातारासी गाउँपालिकामा १० जना र सिंजा गाउँपालिकामा ८ जना रहेका छन् ।


एचपिभी खोप भाईल एक हजार २९२ वटा, एडी सिरिन्ज एक जहार ४१९ वटा, सेफ्टि बक्स ७६ वटा, खोप रजिष्टर ७६ वटा र खोप कार्ड एक हजार ४१९ वटा तयारी गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस