वडा स्तरीय रनिङ शिल्ड प्रतियोगितामा चन्दननाथ मावि प्रथम

१७ स्वर्ण पदक सहित प्रथम भएको चन्दनाथ मावि शिल्ड ग्रहण गर्दै । तस्बिरः नौरते नेपाली

जुम्ला । वडा स्तरीय रनिङ शिल्ड प्रतियोगितामा जुम्लाको चन्दननाथ माथि प्रथम भएको छ । विभिन्न प्रतियोगितामा भाग लिएको चन्दननाथ माविले १७ वटा स्वर्ण पदक जित्दै प्रतियोगिताको उपाधी जित्न सफल भएको हो । चन्दननाथ नगरपालिका वडा नं. ४ को आयोजनामा संचालित वडास्तरीय विद्यालय रनिङ शिल्ड प्रतियोगितामा नगरभित्रका सबै विद्यालयको सहभागिता रहेको थियो । जसमा चन्दननाथ मावि प्रथम आउँदा ९ वटा स्वर्ण पदक सहित कनिका निसा बोर्डिङ स्कुल दोस्रो स्थानमा आएको छ । भने ६ वटा स्वर्ण पदक सहित जिएमडी स्कुल तेस्रो भएको छ ।

त्यसैगरी जेआर कर्णाली बोर्डिङ स्कुल चौथो, अशोक नमुना विद्यालय पाचौ र ब्राईट फ्यूचर छैटौ भएको कर्णाली स्पोर्ट क्बले जानकारी दिएको छ । प्रतियोगिताको उपाधि जितेसँगै चन्दननाथ माविले ट्रफी, मेडलसहित नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा कनिका निशा बोर्डिङ स्कुल द्वितीय भएको छ । द्वितीय भएको विद्यालयले ट्रफी, मेडलसहित नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।

यस्तै, जिएमडी बोर्डिङ स्कुल तृतीय हुँदै ट्रफी, मेडलसहित नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । चन्दननाथ नगरपालिका–४ का वडाध्यक्ष नवराज देवकोटाका अनुसार असोज १ गतेदेखि ६ गतेसम्म विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताए ।

विद्यार्थीमा खेलप्रतिको चासो बढाउने र खेलकुदको महत्वबारे बुझाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ । देवकोटाका अनुसार प्रतियोगितामा वडा नम्बर ४ भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो ।

विद्यालय तहबाटै खेलकुदको विकास गर्न र विद्यार्थीको प्रतिभा पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने उनको भनाइ छ । चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले बालबालिकाको प्रतिभा पहिचानमा सहयोग पुगेको बताए । आगामी दिनमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खेलकुद क्षेत्रमा सहभागी गराउन थप प्रतियोगिता सञ्चालन गरिने उनको भनाइ छ ।

नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले प्रतियोगितामा बालबालिकाले अनुशासित भएर सहभागिता जनाएको बताईन् ।
कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बालबालिकामा खेलकुदप्रति उत्साह देखिएको बताए । विद्यालय तहबाटै नियमित रूपमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न सके खेल क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाई छ ।

चन्दननाथ नगरपालिका–४ को आयोजना, सिद्धि विनायक बाल क्लबको सहआयोजना तथा कर्णाली खेल क्लबको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा चन्दननाथ नगरपालिका–४ का ६ वटा विद्यालयका विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस