शुक्रबारदेखि यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने तथा एक–दुई स्थानमा अति भारी वर्षा समेत हुनसक्ने सम्भावना छ।


त्यस्तै मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। देशका अधिकांश स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको मध्य भाग आसपास विकसित न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले त्यसको प्रभावले आजदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिएको छ।


सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी नदी तथा खोलानाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र कमजोर भौगोलिक संरचना भएका स्थानमा सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस