जुम्लामा भव्यताका साथ सम्पन्न भयो विश्व फार्मासिस्ट दिवस २०२६

जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी महाविद्यालयको आयोजना तथा कर्णाली प्राविधिक शिक्षालयको सहकार्यमा विश्व फार्मासिस्ट दिवस २०२६ विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।


समुद्री सतहबाट २ हजार ३ सय मिटरभन्दा बढी उचाइमा रहेको जुम्लामा आयोजित कार्यक्रममा दुवै संस्थामा फार्मेसी अध्ययनरत विद्यार्थी, प्राध्यापक, अस्पतालमा कार्यरत फार्मासिस्ट तथा अतिथिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रममा फार्मेसी महाविद्यालयका उपप्राध्यापक रमेशराज पाध्याय प्रमुख अतिथि तथा कर्णाली प्राविधिक शिक्षालयका निबन्ध चौलागाईं विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै, फार्मेसी महाविद्यालयका सहप्राध्यापक, लेक्चरर, अस्पतालमा कार्यरत फार्मासिस्ट तथा अन्य सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो।


कार्यक्रमका औपचारिक तथा अनौपचारिक सत्रमा फार्मेसी शिक्षा, पेशागत जिम्मेवारी, औषधिको सुरक्षित प्रयोग, अनुसन्धान तथा समाजमा फार्मासिस्टको भूमिकाबारे विचार–विमर्श र अन्तरक्रिया गरिएको थियो। वक्ताहरूले फार्मेसी औषधि बिक्रीमा मात्र सीमित विषय नभई औषधिको खोज तथा अनुसन्धान, विकास, उत्पादन, गुणस्तर सुनिश्चितता, सुरक्षित वितरण र औषधिको विवेकपूर्ण प्रयोगसँग सम्बन्धित महत्वपूर्ण स्वास्थ्य विज्ञान भएकोमा जोड दिएका थिए।


फार्मेसी पेशाप्रति समाजको दृष्टिकोण परिवर्तन गर्दै समाज रूपान्तरणमा फार्मासिस्टको भूमिका स्थापित गर्नुपर्ने विषयमा समेत कार्यक्रममा विशेष चर्चा भएको थियो। औषधिको सही प्रयोग, औषधिजन्य जोखिम न्यूनीकरण तथा जनस्वास्थ्य प्रवर्द्धनमा फार्मासिस्टको योगदानलाई समाजले अझ प्रभावकारी रूपमा बुझ्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।


कार्यक्रममा नेपालमा दर्ता भएका फार्मासिस्ट तथा फार्मेसी सहायकको अवस्थाबारे पनि चर्चा गरिएको थियो। प्रस्तुत तथ्याङ्कअनुसार नेपालमा कुल ८ हजार ५ सय ६३ जना फार्मासिस्ट र १७ हजार ६ सय ९२ जना फार्मेसी सहायक दर्ता भएका छन्। देशभर एक लाखभन्दा बढी फार्मेसी पसल रहेको सन्दर्भमा प्रत्येक फार्मेसीमा योग्य फार्मासिस्टको उपलब्धता सुनिश्चित गर्ने ‘एक पसल, एक फार्मासिस्ट’ अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकतामाथि छलफल भएको थियो।


साथै, दर्ता भएका जनशक्तिमध्ये कति विदेशमा कार्यरत छन् र देशभित्रको औषधि सेवामा आवश्यक जनशक्तिको उपलब्धता कसरी सुनिश्चित गर्ने भन्ने विषयसमेत उठाइएको थियो।
‘फार्मेसी केवल पेशा होइन, मानव सेवाको माध्यम हो’ भन्ने भावनालाई आत्मसात् गर्दै आफ्नो पेशाप्रति समर्पित भएर जनताको स्वास्थ्य सेवामा इमानदारीपूर्वक योगदान दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।


ज्ञान, अनुभव र विचारको आदान–प्रदानसँगै आपसी सहकार्य, पेशागत एकता र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्दै विश्व फार्मासिस्ट दिवस २०२६ को कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो। कार्यक्रमले फार्मेसी विद्यार्थीहरूमा पेशागत गौरव, जिम्मेवारीबोध र समाजप्रतिको सेवाभाव अभिवृद्धि गर्दै औषधिको सुरक्षित प्रयोग तथा जनस्वास्थ्य प्रवर्द्धनमा फार्मासिस्टको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस