राँकामा पहिरो खस्दा कर्णाली राजमार्ग अबरुद्व 

जुम्ला । अविरल वर्षापछि कर्णाली राजमार्ग अबरुद्व भएको छ । वर्षापछि राजमार्गको जुम्ला खण्डको तातोपानी गाउँपालिका वडा नं १ स्थित राँका र कालिकोटको शुभकालिका-१ स्थित गगने खोलामा आएको पहिरोले सडक पूर्ण रुपमा अबरुद्व भएको छ ।

तातोपानीको राँकामा ठुलो सुक्खा पहिरो खसेपछि राजमार्ग पुरै बन्द भएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए । 

अविरल वर्षाले कर्णाली राजमार्ग सहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। शनिबार बिहानसम्म दैलेख, कालिकोट, हुम्ला, मुगु र जाजरकोटका सडकमा यातायात प्रभावित भएको हो। दैलेख कालिकोट सडकखण्डअन्तर्गत गगने खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। 

यस्तै, कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड खच्चा क्षेत्रमा पहिरो गएपछि सडक बन्द भएको छ। प्रहरीका अनुसार मुगुको नाग्मा गमगढी सडकखण्डअन्तर्गत रारा जाने मार्गको झारीखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। 

जाजरकोटको छेडागाड नगरपालिका ४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुंगा र लेदोसहितको पहिरोले छेडा थलह सडक पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस