जुम्ला – कर्णाली प्रदेशमा होम डेलिभरी हुने दर शून्यमा झार्ने लक्ष्य लिइए पनि चुनौती भने उस्तै छ । सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको साझा प्रयासमा संस्थागत सुत्केरी हुने दर वृद्धि भए पनि घरमा सुत्केरी हुने दर भने घटेको छैन । कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार २८ प्रतिशत घरमै सुत्केरी हुने गरेको पाइएको छ भने संस्थागत सुत्केरी ७२ प्रतिशत पुगेको छ ।
स्वास्थ्य सेवा निर्देशनालयका पव्लिक हेल्थ नर्स मानकुमारी गुरुङका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा कर्णालीमा संस्थागत सुत्केरी ७२ प्रतिशत, दक्ष जनशक्तिबाट सुरक्षित प्रसूति दर ६९ प्रतिशत, आठ पटक गर्भवती जाँच गर्ने ५७ प्रतिशत, २० वर्षमुनिका गर्भवती आमा १५ प्रतिशत रहेको छ । संस्थागत सुत्केरी हुनेमा कर्णालीमा सबैभन्दा धेरै सुर्खेतमा रहेको छ भने डोल्पामा संस्थागत सुत्केरी भएको दर्ताको तथ्याङ्क छैन ।
यसै गरी घरमा तथा स्वास्थ्य संस्थामा ल्याउँदै गर्दा बाटोमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । जाजरकोटमा ३१८ जना र रुकुमपश्चिममा ८० जना महिला घरमा सुत्केरी भएको निर्देशनालयले जनाएको छ । गतवर्ष कर्णालीमा कडा शीघ्र कुपोषण भएका ६३० जना बालबालिका रहेकोमा १८६ जनाको पोषण केन्द्रमा राखेर उपचार गरिएको छ । कर्णालीका महिलामा आङ खस्ने दर २४ प्रतिशत रहेको छ ।
यस्तै कर्णालीभर ७९ हजार ६९२ जना बालबालिकाको स्वास्थ्य जाँच गर्दा एक हजार ४३३ जनामा शीघ्र कुपोषण देखिएको निर्देशनालयका पब्लिक हेल्थ नर्स गुरुङले बताइन् । उनले भनिन् कर्णालीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कभरेज ९८ प्रतिशत रहेको छ । अन्य खोप ९० प्रतिशतमाथि रहेको छ । कर्णालीमा विगतको तुलनामा अवस्थामा सुधार हुँदै आए पनि घरमा सुत्केरी हुने दर, मातृमृत्यु दरमा कमी ल्याउन सकिएको छैन ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले प्राप्त स्रोतसाधनलाई अधिकतम उपयोग गरेर कर्णालीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने प्रयास गरिएको बताए । उनले भने, कर्णालीमा भौतिक पूर्वाधार र विशेषज्ञ जनशक्तिको अभाव जस्ता समस्या रहेको छ ।




