त्रिवेणी–टोप्ला सडक अबरुद्व, पहिरो पन्छाउन माग

जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ७ र ८ लाई कर्णाली राजमार्गमा जोड्ने त्रिवेणी–टोप्ला सडकको अबरुद्ध नखुल्दा भेरीखोला क्षेत्रका नागरिकले सास्ती पाएका छन् । यही असोज ८ गतेदेखी ११ गते सम्म भएको अविरल वर्षापछि आएको पहिरोले अबरुद्ध त्रिवेणी–टोप्ला सडक नखुल्दा स्थानीयलाई आवतजावतमा समस्या भएको हो । 

वर्षाले त्रिवेणी–टोप्ला सडक अन्तरर्गत तिला–४ को क्षेत्रमा भिषण पहिरो खस्दा सडक अबरुद्ध भएको छ । भौगोलिक रुपमा जुम्लाकै विकट तातोपानी गाउँपालिका वडा नं. ७ र ८ का दर्जनौ बस्ती रहेको भेरीखोला क्षेत्रमा करिब ६ दिनदेखी सडक अबरुद्ध हुँदा नागरिकले सास्ती पाएका छन् । 

दैनिक कामकाजका लागि सदरमुकाम आउने नागरिक पनि गाउँमै रोकिएका छन् । जटिल खालका विरामीको उपचारमा पनि सकस भएको बुझिएको छ । 

साथै दैनिक जसो त्रिवेणी भएर टोप्ला सम्म पुग्ने यात्रु बाहक तथा माल बहाक सवारी साधन त्रिवेणीमै रोकिएका छन् । भने दैनिक उपभोग्य सामग्रीको आपुर्तिमा असहज भएको तातोपानी–७ टोप्लाका स्थानीय सन्देश शाहीले बताए । उहाँले त्रिवेणी–टोप्ला सडक अबरुद्ध समयमै कहिले पनि नखुलेको गुनासो पोखे । 

उनले भने,‘वर्षा सुरु भएसंगै त्रिवेणी–टोप्ला सडक धेरै पटक अबरुद्ध भयो । तर समयमै कहिले खुलेन् । सडक अबरुद्ध हुँदा राज्यको स्रोत साधन सधै कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक मात्रै खुलाउने, अन्तिममा मात्रै त्रिवेणी–टोप्ला सडक खुलाउने विभेदपूर्ण व्यवहार खेपीरहेका छौ ।’

त्रिवेणी–टोप्ला सडकमा प्राय पहिरो गईरहने भएकाले आबश्यक जनशक्ति र मेसिन उक्त क्षेत्रमा तैथानी राख्नु पर्नेमा भेरीखोलाका स्थानीयको माग छ । हजारौ नागरिक बसोबास गर्ने, जाजरकोटलाई जोड्ने एकमात्र माध्यम त्रिवेणी–टोप्ला सडक स्तरोन्नति सरकारको प्रथामिकतामा नपरेको भेरीखोलाकासीको दुखेसो छ । 

यता सडक डिभिजन जुम्लाले सिमित स्रोत साधनका कारण सबै क्षेत्रका सडक एकै पटक खुलाउन सम्भव नरहेको बताएको छ । अविरल वर्षाले कर्णाली राजमार्गको गगने खोला, राँचुलीमा ठुलो पहिरो गएपछि त्यस क्षेत्रको पहिरो पन्छाइएको सडक डिभिजन जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताए ।

राराजाने नाग्म–गमगडी सडक पनि खुलिसकेको छ । उनले भने,‘कर्णाली राजमार्गको पहिरो पन्छाएर मेसिन जुम्ला आईसकेको छ । डोजर र टिप्पर दुबै पठाउनु पर्ने छ । सिमित स्रोत साधनका बीच पहिरो पन्छाउने कामलाई गति दिएका छौ । 

अब बुधबार (आज) विहानबाटै पहिरो पन्छाउन सुरु हुन्छ ।’ 

विगतको तुलनामा यस वर्षको वर्खामा अबरुद्ध भएका सडक खुलाउन सडक डिभिजनले निकै तिव्रताका साथ काम गरेको छ । 

दशैलाई लक्षित गरी सडकलाई भरपर्दो र सहज रुपमा यात्रा गर्ने बनाउन सबै संयन्त्र परिचालन गर्ने सडक डिभिजन जुम्लाको तयारी छ ।  

प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस