सुर्खेत-१ मा १८  वर्षका कमल परियार बने महाधिवेशन प्रतिनिधि

जुम्ला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट १८ वर्षीय कमल परियार कर्णाली प्रदेश महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।

सामान्य किसान परिवारमा जन्मिएका परियार सुर्खेतको ग्रामीण भेग सिम्ता गाउँपालिकामा हुर्किएका हुन्। उनको परिवार कुनै राजनीतिक पृष्ठभूमि थिएन। तर, सानै उमेरदेखि सामाजिक तथा राजनीतिक गतिविधिप्रति चासो राख्दै आएका परियारले आफ्नो सक्रियता र निरन्तरको यात्रामार्फत राजनीतिमा पहिचान बनाउँदै आएका छन्।

बाल कांग्रेसदेखि राजनीतिक तथा सामाजिक यात्राको सुरुवात गरेका परियारले विद्यार्थी तथा युवा तहका विभिन्न संगठन र सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गरेका छन्। स्थानीय तहमा युवा तथा बालबालिकाका सवाल, शिक्षा, सामाजिक न्याय, समावेशिता र युवाको सहभागिताका विषयमा समेत उनी सक्रिय रहँदै आएका छन्।

ग्रामीण परिवेशबाट आएका परियारका लागि प्रदेश महाधिवेशन प्रतिनिधिको जिम्मेवारी केवल व्यक्तिगत उपलब्धि मात्र नभई ग्रामीण तथा नयाँ पुस्ताका युवाको राजनीतिक सहभागिताको प्रतिनिधित्व गर्ने अवसर समेत हो।

१८ वर्षकै उमेरमा नेपाली कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिको जिम्मेवारी प्राप्त गरेसँगै परियारको राजनीतिक यात्राले नयाँ पुस्ताको सहभागितालाई समेत बहसमा ल्याएको छ। परियारले आफूले पाएको जिम्मेवारीलाई युवाको आवाज पार्टीको नीति, संगठन र निर्णय प्रक्रियासम्म पुर्‍याउने अवसरका रूपमा लिएको बताएका छन्।

सिम्ताको ग्रामीण परिवेशबाट राजनीतिक यात्रा सुरु गरेका १८ वर्षीय परियारको प्रदेश महाधिवेशन प्रतिनिधिसम्मको यात्रालाई नेपाली कांग्रेसभित्र नयाँ पुस्ताको सहभागिताको एउटा उदाहरणका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस