तातोपानी–१ का २५ बालबालिकालाई शैक्षिक सामग्री बितरण

जुम्ला । तातोपानी गाउँपालिका– वडा नं १ स्थित राँका गाउँका २५ जना बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ । संरक्षणको आवश्यकता भएका २५ जना बालबालिकालाई बुधबार शैक्षिक साम्रगी न्यानो पोशाक वितरण गरिएको हो ।

आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार वडा कार्यालयले बालबालिकालाई विद्यालयमा नियमित गराउने र आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नदिन शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग गरेको छ ।

कार्यक्रमकै अवसरमा लामो समयदेखि बाल क्लबमा आबद्ध भएर बालअधिकार, बालबालिकाको सहभागिता तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी रमिला कामीलाई १८ वर्ष उमेर पूरा भएको अवसरमा वडा कार्यालयले सम्मानसहित बिदाइ गरेको छ । उनलाई वडा कार्यालयका तर्फबाट सम्मानपत्र प्रदान गरी बिदाइ गरिएको हो ।

बालबालिकाको क्षेत्रमा किर्डाक नेपाल र सेभ द चिल्ड्रेनले सहजीकरण तथा प्राविधिक सहयोग गर्दै आएको वडा अध्यक्ष कर्णबहादुर कठायतले बताए । उनका अनुसार बालबालिकाको शिक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न वडा कार्यालय, समुदाय तथा विकास साझेदारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लगिने छ ।

तातोपानी गाउँपालिका–१ का वडा सचिव तेजबहादुर रावतले वडा कार्यालयले बालबालिकाको अधिकार, संरक्षण, शिक्षा तथा सहभागिताका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । बालबालिकालाई विद्यालयमा नियमित गराउन तथा उनीहरूको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गरे ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस