जुम्ला । स्व.दीप बहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार-२०८३ जुम्लाका जेष्ठ पत्रकार कर्ण बहादुर भण्डारीलाई प्रदान गरिने भएको छ । जुम्लामा विगत २५ वर्षदेखी पत्रकारितामा सक्रिय भण्डारीलाई यस वर्षको स्व.दीप बहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो ।
स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाका संस्थापक अध्यक्ष शुभाकर विश्वकर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईको रोहोवरमा शुक्रबार बसेको ´पुरस्कार छनोट समिति`को बैठकले गरेको ६५ वर्षिया जेष्ठ पत्रकार भण्डारीलाई पाँचौं संस्करणको ‘स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार-२०८३` प्रदान गर्ने निर्णय गरिएको छ ।
प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ,´विगत २५ वर्षदेखी जुम्ला जिल्लालाई कार्यक्षेत्र बनाएर सीमित स्रोतसाधनका बाबजुत निरन्तर पत्रकारिता पेशामा सक्रिय रहनु भएका पत्रकार भण्डारी १८ वर्ष नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । केहि वर्ष यता हिमालय टेलिभिजनमा आबद्व हुनुहुन्छ। उमेरले ६५ वर्ष नाघि सक्नु भएका पत्रकार भण्डारी जिल्लाको आर्थिक सामाजिक, साँस्कृतिक र समसामायिक विषयका एक संग्राहालय नै हुनुहुन्छ। `
प्रतिष्ठानका संस्थापक अध्यक्ष शुभाकर विश्वकर्माले यस वर्षको पुरस्कार जेष्ठ पत्रकार कर्ण भण्डारीलाई प्रदान गर्न पाउँदा खुसी व्यक्त गरे । ´६५ वर्षको उमेरमा पनि पत्रकारितामा उहाँको निरन्तर सक्रियता, जाँगर,आट नै अहिलेका यूवा पत्रकारहरुका लागि एउटा प्रेरणा हो,`उनले भने,´पुरस्कार उहाँको सक्रियता, जोश जाँगरको सम्मान हो । आजसम्म प्रतिष्ठानले जुम्लाका चार क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत गरिसकेको छ ।`
कर्णाली क्षेत्रमा रहेर निष्पक्ष र व्यावसायिक पत्रकारिता गर्ने क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले जुम्लामै पहिलो पटक व्यक्तिगत तवरबाट स्थापित यस पुरस्कारको राशी रु. १०,००० (अक्षरेपी दश हजार रुपैयाँ) रहेको छ।
जुम्लाको विकास, सुशासन, पारदर्शिताका क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै प्रतिष्ठानले भण्डारीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। उक्त पुरस्कार एक विशेष समारोहका बीच हस्तान्तरण गरिने व्यहोरा समेत यसै विज्ञप्तिद्वारा सूचित गरिन्छ। पुरस्कार वितरणको मिति केहि दिनका घोषणा गरिने छ ।
भण्डारी १८ वर्ष नेपाल टेलिभिजनमा कार्यरत थिए । भने केहि वर्ष यता हिमालय टेलिभिजनमा कार्यरत छन् ।





