जुम्लामा प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता हुम्ला र डोल्पा अनुपस्थित


जुम्ला । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता जुम्लामा सुरु भएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ वटा जिल्लाका खेलाडीको सहभागितामा सोमबारदेखि छनोट प्रतियोगिता सुरु भएको हो ।

१८ वर्ष माथिका महिला तथा पुरुष खेलाडी सहभागी प्रतियोगिताको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।


प्रतियोगितामा दैलेख, सुर्खेत, रुकुमपश्चिम, सल्यान, जुम्ला, कालिकोट, जाजरकोट र मुगु जिल्लाका खेलाडी सहभागी भएका छन् । साविक कर्णालीका डोल्पा र हुम्लाका खेलाडी भने छनोट प्रतियोगितामा सहभागी छैनन् ।

जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार प्रतियोगितामा तेक्वान्दो छनोटका प्राविधिक टोली तथा कर्णाली प्रदेश तेक्वान्दो समितिका पदाधिकारीको सहभागिता रहेको छ ।


जुम्लामा सञ्चालन भइरहेको छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइनेछ । जुम्लामा आयोजित प्रतियोगितामा स्थानीय खेलाडीले सानदार प्रदर्शन गरेको प्रशिक्षक लालबहादुर रोकायाले बताए ।

उनका अनुसार प्रतियोगिताले जुम्लाका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ । प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख आचार्यले खेलाडी छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन आग्रह गरेक छन् ।


प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय प्रतियोगितामा पनि राम्रो नतिजा ल्याउने विश्वास उनले व्यक्त गरेका छन् । त्यस्तै, कर्णाली खेलकुद परिषद्का सदस्य तथा जुम्ला र कालिकोट जिल्लाका खेल संयोजक पंखबहादुर मल्लले तेक्वान्दो विधामा कर्णाली प्रदेशबाट उत्कृष्ट खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बताए ।

खेलकुदका माध्यमबाट कर्णाली प्रदेशलाई राष्ट्रियस्तरमा अग्रस्थानमा पु¥याउन सकिने उनको भनाइ छ ।
जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख न्यौपानेले जुम्लामा सञ्चालन भएको तेक्वान्दो छनोट प्रतियोगिताले स्थानीय खेलाडीमा थप ऊर्जा र उत्साह जगाउने बताए । असोज २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो प्रतिभा, क्षमता र खेल कौशल प्रदर्शन गर्ने उनले जानकारी दिए ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशका विभिन्न जिल्लामा छनोट खेल सञ्चालन भइरहेका छन् । प्रदेशस्तरीय छनोट प्रतियोगिताले प्रतिभावान् खेलाडी पहिचान गर्नुका साथै राष्ट्रिय प्रतियोगितामा कर्णालीको प्रतिनिधित्व बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस