मुगुमा खुडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपित जङ्गल बाट पक्राउ

मुगु –मुगुको छायाँनाथ रारा नगरपालिका–५ कार्कीबाडामा खुडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय धनवीर कामी रहेका छन्।

प्रहरीका अनुसार असोज २७ गते बिहान करिब ८ः२० बजे सोही ठाउँका ३२ वर्षीय अजबिर कामीले धनवीरमाथि धारिलो हतियार खुडा प्रहार गरेका थिए। गम्भीर घाइते भएका धनवीरलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि फरार भएका आरोपितको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमान्डमा ३५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीका अनुसार बिहान करिब ९ः३० बजे छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने जंगलमा भागिरहेको अवस्थामा आरोपितलाई खुडासहित पक्राउ गरिएको हो। उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ।

घटना हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस