हिमा गाउँपालिका अध्यक्ष शाहीको आत्मकथा ‘आधा अध्याय’ सार्वजनिक

जुम्लाको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको आत्मकथात्मक पुस्तक ‘आधा अध्याय’ सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति मधु आचार्य, महामन्त्री उदयशमशेर राणा र संसदीय दलकी सचेतक वासना थापालगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

पुस्तकमा शाहीले ग्रामीण परिवेशमा बिताएको बाल्यकालदेखि विद्यार्थी राजनीतिमा प्रवेश गर्दै सार्वजनिक नेतृत्वसम्म आइपुग्दाको संघर्ष, अनुभव र चुनौतीलाई समेटेका छन्। तरुण दलको नेतृत्व, चुनावी प्रतिस्पर्धा, संगठन निर्माण तथा स्थानीय सरकार सञ्चालनका अनुभवसँगै शिक्षा, स्वास्थ्य, खानेपानी र ग्रामीण विकासका सवाललाई पनि उनले कृतिमा प्रस्तुत गरेका छन्।

राजनीतिक यात्राका अतिरिक्त पुस्तकमा पारिवारिक स्मृति र व्यक्तिगत संघर्षका प्रसंगसमेत समेटिएका छन्। दसैं मनाउन घर फर्किने क्रममा बाटोमै ज्यान गुमाएका उनका कान्छा भाइ तथा नेपाली सेनाका जवान सुरेन्द्र शाहीको स्मृति दिवसको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तकमाथि टिप्पणी गर्दै लेखक तथा समीक्षक मनऋषि धितालले काठमाडौंलाई मात्र ज्ञान र सिर्जनाको केन्द्र मान्ने प्रवृत्तिविरुद्ध ‘आधा अध्याय’ कर्णालीको प्राज्ञिक हस्तक्षेप भएको बताए। उनले पुस्तकले स्थानीय परिवेशबाट नेतृत्व निर्माण हुने प्रक्रिया र कर्णालीको सामाजिक यथार्थ बुझ्न सहयोग पुर्‍याउने धारणा राखे।

कार्यक्रममा कांग्रेस उपसभापति मधु आचार्यले विकासलाई जनताको दैनिक जीवनमा देखिने परिवर्तनसँग जोड्नुपर्ने बताए। महामन्त्री उदयशमशेर राणाले ग्रामीण क्षेत्रका अनुभवलाई राष्ट्रिय निर्णय प्रक्रियामा समेट्नुपर्नेमा जोड दिए। कवि महेन्द्र अतलले पुस्तक जनतासँग जोडिएर काम गर्न चाहने राजनीतिकर्मीका लागि उपयोगी हुने टिप्पणी गरे।

कांग्रेस संसदीय दलकी सचेतक वासना थापाले ‘आधा अध्याय’ शीर्षकले लेखकको जीवनयात्रा अझै जारी रहेको संकेत गर्ने बताइन्। व्यक्तिगत संघर्ष, राजनीतिक अनुभव र कर्णालीको सामाजिक यथार्थलाई समेटिएको यस पुस्तकले ग्रामीण भूगोलबाट नेतृत्वमा पुगेको व्यक्तिको जीवनयात्रा र समाजका विविध पक्षलाई पाठकमाझ प्रस्तुत गरेको छ।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस