भारी हिमपातले डोल्पामा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा सम्पर्कविहीन भएका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।


जिल्ला सुरक्षा समितिको समन्वयमा मंसिर १६ गते बिहान सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो। बिहान ७ः२० बजे पोखराबाट आएको हेलिकप्टर ७ः३५ बजे उद्धारका लागि उडेको थियो। बिहान ९ः२५ बजे ६ जना पर्यटकको उद्धार गरिएको थियो।


हिमपातका कारण उनीहरू मंसिर १४ गतेदेखि फसेका थिए। उद्धारका लागि यसअघि नेपाली सेना र सिम्रिक एयरको हेलिकप्टर परिचालन गर्ने प्रयास भए पनि प्राविधिक समस्याका कारण सफल हुन सकेको थिएन।


उद्धार गरिएका ६ जना भारतीय नागरिकलाई जिल्ला अस्पताल दुनै पुर्‍याएर सामान्य उपचार गरिएको थियो। उपचारपछि सबै जना डिस्चार्ज भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस