डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जना रुकुम पश्चिममा पक्राउ परेका छन्।
मङ्गलबार बिहान आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्। दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
प्रहरीका अनुसार जिपमा सवार उनीहरूले भाग्न खोजेपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा फरार कैदी भएको खुलेको हो।
गत कात्तिक १४ गते सुरुङ खनेर आठ जना कैदी कारागारबाट फरार भएका थिए। दुई जना पक्राउ परेसँगै अझै छ जना फरार रहेका छन्।
प्रकाशित मिति : २०८३ कार्तिक १८ गते मङ्गलवार




