सिंजामा खस भाषाको खुला कविता प्रतियोगिता हुँदै

जुम्ला। खस भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले जुम्लाको सिंजा गाउँपालिकामा पहिलोपटक खस भाषाको खुला कविता प्रतियोगिता आयोजना हुने भएको छ।


प्रगतिशील लेखक संघ (प्रलेस) जुम्ला र सिंजा गाउँपालिकाको संयुक्त आयोजनामा आगामी मंसिर १५ गतेदेखि गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र नराकोटमा प्रतियोगिता सञ्चालन गरिने प्रलेस जुम्लाका अध्यक्ष रणबहादुर रावतले जानकारी दिनुभयो।


प्रतियोगितामा सहभागी हुन इच्छुक कवि तथा साहित्यकारले मंसिर १० गतेसम्म आफ्नो कविता पठाउन सक्नेछन्। प्राप्त कवितामध्ये छनोट भएका कविताको वाचन प्रतियोगिता मंसिर २० गते आयोजना गरिने अध्यक्ष रावतले बताउनुभयो।


कवितामार्फत सिंजाको ऐतिहासिक खस सभ्यता, भाषा र सांस्कृतिक पहिचानको प्रचारप्रसार गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो।


प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ६ हजार र तृतीय हुनेलाई ४ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट १० कवितालाई समेत प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।


प्रतियोगितामा सहभागी सबै कविका कविता प्रगतिशील लेखक संघ जुम्लाको स्मारिकामा प्रकाशन गरिने आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस