जापानको १४ वर्षे बसाइ छाडेर स्वदेश फर्किएका भरत स्वाँरले गरे चन्दननाथको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा

जुम्ला — आगामी २०८४ सालमा हुने स्थानीय तह निर्वाचनमा जुम्लाको चन्दननाथ नगरपालिकाको नगरप्रमुख (मेयर) पदका लागि भरत स्वाँरले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

शनिबार जुम्लामा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा चन्दननाथ नगरपालिका–२, भण्डारीबाडा निवासी स्वाँरले नगरप्रमुख पदमा स्वतन्त्र रूपमा चुनाव लड्ने औपचारिक घोषणा गरेका हुन्। उनले आफ्नो उम्मेदवारीसँगै नगर विकासको दृष्टिकोण र प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन्।

१४ वर्ष जापानमा बिताएर स्वदेश फर्किएका स्वाँरले विदेशको सुखसुविधायुक्त जीवन छाडेर आफ्नै जन्मभूमिको विकास र समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्।

‘नगरप्रमुखका रूपमा अगाडि बढ्ने मेरो सोच केवल पद प्राप्त गर्नु होइन, समग्र नगरको विकास, सुशासन र जनताको जीवनस्तरमा परिवर्तन ल्याउनु हो । द अर्गानिक भ्वाइस पोडकास्टका सञ्चालकसमेत रहेका स्वाँरले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, पर्यटन, पूर्वाधार विकास र सुशासनलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन्।

उनको प्रतिबद्धता पत्रमा व्यवस्थित फोहोरमैला व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ। नगरभित्र उत्पादन हुने फोहोरको संकलन, वर्गीकरण र वैज्ञानिक विसर्जनका लागि उपयुक्त स्थान पहिचान गरी विज्ञको परामर्शमा दीर्घकालीन व्यवस्थापन प्रणाली लागू गर्ने योजना अघि सारिएको छ।

त्यस्तै, नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने तथा प्राविधिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। युवालाई आफ्नै नगरमा रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्ने योजना पनि उनको प्राथमिकतामा छ।

कृषितर्फ स्याउ, ओखर, सिमी र आलुलगायत स्थानीय उत्पादनको व्यावसायिक प्रवर्द्धन, बजारीकरण, भण्डारण तथा प्रशोधन उद्योग स्थापनामा जोड दिइएको छ। किसानलाई आधुनिक कृषि प्रविधि, सिँचाइ र प्राविधिक सहयोग उपलब्ध गराउने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ।

युवालाई लागुऔषध दुर्व्यसनबाट जोगाउन सचेतनामूलक अभियान सञ्चालन गर्ने, दुर्व्यसनमा फसेकाहरूको उपचार तथा पुनःस्थापनामा सहयोग गर्ने र लागुऔषध कारोबार नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने योजना उनले अघि सारेका छन्।

पर्यटन तथा संस्कृति प्रवर्द्धनअन्तर्गत चन्दननाथ मन्दिरसहित नगरभित्रका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन पूर्वाधार विकास, होटल तथा होमस्टे व्यवसायको प्रवर्द्धन र स्थानीय भाषा, कला तथा संस्कृतिको संरक्षणलाई प्राथमिकता दिइएको छ।

पूर्वाधार विकासतर्फ गुणस्तरीय सडक, खानेपानी, विद्युत्, ढल निकास, सार्वजनिक शौचालय र व्यवस्थित पार्किङको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ। साथै विपद् व्यवस्थापन, दमकल सेवा र आपत्कालीन उद्धार प्रणालीलाई प्रभावकारी बनाउने योजना पनि समेटिएको छ।

स्वाँरले नगरपालिकाको बजेट तथा खर्च पारदर्शी बनाउने, विकास निर्माणमा हुने अनियमितता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने तथा नागरिकका गुनासा समयमै सम्बोधन गर्ने बताएका छन्। महिला, युवा, दलित, विपन्न, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र अवसर सुनिश्चित गर्ने विषयलाई समेत उनले आफ्नो चुनावी एजेण्डामा समावेश गरेका छन्।

त्यसैगरी, नगरपालिकाका सेवा प्रवाहलाई डिजिटल तथा प्रविधिमैत्री बनाउँदै नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उनको योजना छ।

‘विकास भाषणले होइन, स्पष्ट दृष्टिकोण, इमानदार नेतृत्व, सामूहिक प्रयास र परिणाममुखी कामले सम्भव हुन्छ,’ स्वाँरको प्रतिबद्धता पत्रमा उल्लेख छ।

कुनै व्यक्ति, समूह वा राजनीतिक स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नगरवासीको साझा प्रतिनिधिका रूपमा काम गर्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेका स्वाँरले ‘समृद्ध चन्दननाथ, आत्मनिर्भर नगरवासी र उज्यालो भविष्य’ भन्ने मूल नारासमेत अघि सारेका छन्। उनले नगरको समग्र विकासका लागि सबै नगरवासीको साथ, सुझाव र सहयोगको अपेक्षा गरेका छन्।

प्रकाशित मिति : २०८३ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस