जुम्लामा १४ वर्षीया बालिकालाई झारफुक गरेर निको पार्ने भन्दै भिडियो बनाएको आरोपमा एक धामी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका–१ निवासी ४६ वर्षीय कालिबहादुर रोकाया रहेका छन्।
१४ वर्षीया बालिकामाथि झारफुक गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई भाइरल भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो। सोही क्रममा मङ्सिर १२ गते प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले रोकायालाई आफ्नै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शालिकराम खनालका अनुसार पक्राउ परेका रोकायालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित मिति : २०८३ मङ्सिर १३ गते शनिवार




