
कास्की ः नेपाल पुलिस क्लब पोखरामा जारी १६औँ संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा मनाङलाई ३–१ ले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो ।
डिफेन्डिङ च्पाम्पियन मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्ने क्रममा पुलिसले सबै तीन गोल दोस्रो हाफमा सम्भव बनायो । मनाङविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको पुलिस र मनाङ आहाराराको सर्वा्धिक सफल टिमका रूपमा रहँदै आएका छन् ।
पहिलो हाफ गोलरहित बराबरी
एक–अर्का्विरुद्ध पटक–पटक भिडेका पुलिस र मनाङले पहिलो हाफबाटै एक–अर्का्विरुद्ध गोल प्रयास गरेका थिए । १८औँ मिनेटमा अभिषेक रिजालको राम्रो प्रहार सदुपयोग गर्न नसक्दा पुलिस सुरुवाती अग्रताबाट चुक्यो । लगत्तै ३३औँ मिनेटमा मनाङले पनि राम्रो मौका पाएको थियो । सुजल श्रेष्ठले करिब ३५ यार्डबाट गरेको उत्कृष्ट प्रहारलाई गोलरक्षकले सानदार बचाउ गरे ।
दोस्रो हाफमा ४ गोल
पहिलो हाफ गोलरहित सकिए पनि दोस्रो हाफमा भने ४ गोल भएको थियो । दोस्रो हाफको सुरुवातबाट नै आक्रामक रूपमा प्रस्तुत भएको पुलिस लगातार तीन गोल गर्न सफल भयो । एक–अर्काको पोस्टमा निरन्तर आक्रमण गरे पनि पुलिस भाग्यमानी साबित भयो ।
खेलको ५३औँ मिनेटमा अग्रता कायम गर्ने क्रममा पुलिसका नीरकुमार राईले गोल गरेका थिए । मनाङका डिफेन्डरले हेड गरेको बललाई नियन्त्रणमा लिँंदै नीरकुमारले आकर्षक गोल गरेका थिए । पहिलो गोल गरेको ४ मिनेट नबित्दै पुलिसले अग्रता दोब्बर बनायो । ५७औँ मिनेटमा दिनेश राजवंशीले हेडमार्फत पुलिसको अग्रता दोब्बर बनाए ।
तेस्रो गोल पुलिसले ७२औँ मिनेटमा सम्भव बनायो । नीरकुमारको पासमा प्रतियोगिताका म्यान अफ दी म्याच सुमन लामाले विपक्षी गोलरक्षक अगाडि बढेको मौकामा २२ यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
निरन्तर गोल खाएपछि दबाबमा परेको मनाङले ८२औँ मिनेटमा विशाल राईको गोलमार्फत खेलमा फर्कन कोसिस गरेको थियो । खेल अवधिभर दुवै टिमले गोलका थुप्रै राम्रा मौकालाई चुकाएका थिए । प्रतियोगितामा झापा–११ लाई १–० ले परजित गर्दै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको थियो भने मनाङले बाई पाउँदै शीर्ष ८ मा स्थान बनाएको थियो ।
रणनीति सफल
जितपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले पहिलो हाफमा केही चुके पनि दोस्रो हाफ रणनीतिअनुसार नै खेल्दा जित सम्भव भएको बताए । उनले भने, ‘नयाँ खेलाडीसँग पहिलो हाफमा राम्रो तालमेल हुन सकेन, तर दोस्रो हाफमा खेलाडीले अपेक्षाअनुसार प्रदर्शन गरे ।’ उनले खेलाडीहरू तनावमा आएर खेलेजस्तो देखिए पनि संयमित भएर खेल्दा दोस्रो हाफमा नतिजा निस्किएको बताए ।
विदेशी खेलाडी खेल्न नपाउँदा हार
मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले विदेशी खेलाडी नखेलेका कारण टोलीले हारेको बताए । उनले भने, ‘चार–पाँच वर्षदेखि मनाङको जितमा विदेशी खेलाडीको भूमिका महत्वपूर्ण रहँदै आएको छ । उनीहरूले पहिलो घेरामा खेल्दै आएका छन् । विदेशी खेलाडीले डिफेन्स धान्दै आएको अवस्थामा उनीहरू नखेल्दा टोलीले हार व्यहोरेको हो ।’
साथै लोप्साङले पहिलो हाफलाई खेलाडीले इजी रूपमा लिएकाले नतिजा निकाल्न नसकेको बताए । वर्क परमिट नभएका कारण मनाङका भिक्टर, सोलो र मुसोलगायत चार विदेशी खेलाडीले खेलेका थिएनन् । आहारारा फुटबल प्रतियोगिताको उपाधिमा पुलिसले चार र मनाङले पाँचपटक उपाधि जितेका छन् ।
बुधबार १७ माघ २०७४ । नयाँ पत्रिकाबाट साभार