गाँउका वडा सदरमुकाममा संचालन

नन्दराम जैशी,
जुम्ला । झट्ट सुन्दा या देख्दा सबैलाई अचम्म लाग्छ, सदरमुकाममै एउटै छानोमुनि गाँउका तिन वडा कार्यालय संचालन भएको । संघीय संरचना अनुसार सिंह दरबारको अधिकार घर–घरमा आएको छ । तर नागरीकले सिंह दरबारको अधिकार घर घरमा आएको कुनै महशुस गरेका छैनन् । त्यसको साटो सिंहदरबारको अधिकार अँझै परसरेको नागरीकले महशुस गरेका छन् । किनकि यस अघि आफ्नै घरदैलोमा सेवा पाएका तथा पराकिलो बस्तीमा अवस्थीत साविकको एक गाविसका अधिकांस वडाहरु अहिले गाभिएर एउटै वडा बनेका छन् ।


जसमा नेपालकै हिमाली जिल्लाको सुगम जिल्ला तथा कर्णालीको पहिलो चन्दननाथ नगरपालीका जवलन्त उदाहरण हो ः संघीय संरचनापछि अहिले कर्णालीकै सुगम मानिएको चन्दननाथ नगरपालीकाको तिन वटा वडा कार्यालय एउटै छानोमुनी संचालन भएका छन् । वडा नं २÷३ र ४ एउटै छानोमुनि संचालन भएर कार्य सम्पादन भैरहेको देख्दा जुम्ला संगै कर्णालीका अन्य सबै नगरपालीका तथा गाँउपालीकाको हालत के होला ? सजिलै बुझ्न सकिन्छ । कतै वडा कार्यालय अझैँ ब्यवस्थापन भएका छैनन् त, कतै कर्मचारीको ब्यवस्थापन हुन सकेको छैन ।

आँखा अस्पलात जुम्लाको सानो ६ कोठे भवनको एउटै छानोमुनी संचालन भएका यि, तिन वटै सुगम मानिएका वडा कार्यालय मध्य वडा नं २ र ३ सदरमुकाम भन्दा अलि टाढा रहेका छन् । तर गाँउका वडा कार्यालय पनि सदरमुकाममै स्थापना गरीएपछि नागरीकलाई भने सेवा लिन आफ्नो वडा छोडेर अर्काको वडामा धाउनु पर्ने बाध्यता छ । वडा नं २ का दिप बहादुर भण्डारीले भने, ‘स्थानिय सरकारले घरदैलोमा सेवा दिने नारा, नारामै सिमित छ । स्थानिय सरकारबाट हामि नागरीकले गरेका अपेक्षा सार्थक हुने देखिदैन, पहिले आफ्नै वडा कार्यालयबाट पाइने सेवा लिन पनि अहिले अर्काको वडामा जानुपर्ने यो कस्तो बाध्यता ? के यहि हो त संघीयताको अधिकार’ ?

वडा नं २ कि उर्मिला भण्डारीले भनिन्, ‘पहिले घरदैलोमै बनाइने बच्चाको जन्मदर्ता बनाउन अहिले अर्को वडा कार्यालयमा जानुपर्दा दु ः ख लागेको छ । जन्मदर्ता बनाउन जाँदा समयमै कर्मचारीहरु र वडा अध्यक्ष पनि भेटिएनन्, आफ्नो वडा कार्यालय वडामै भए सहज हुने थियो’ ।

उनि जस्तै वडा नं २ र ३ का अधिकांस नागरीकले आफ्नै वडामै वडा कार्यालय स्थापना हुनुपर्ने माग राखेका छन् । वडा नं ३ का ईश्वर खत्रिले भने, ‘आफ्नै वडामा कार्यालय स्थापना गर्न नसक्ने जनप्रतिनिधि र नगरपालीकाले जति प्रभावकारी सेवा दिएपनि त्यसको औचित्य हुदैन, नियम संगत कार्यालय स्थापना हुनुपर्छ, हामि घरदैलो सेवा चाहान्छौ, आफ्नो अधिकार अर्कासँग मागेर होइन, आफै स्वइच्छाले प्रयोग गर्ने बातावरण हुनुपर्छ, संयुक्त वडा कार्यालय उपयुक्त हुदै होइन’ ।

– वडा नं २ को कार्यालय स्थापनाका लागी उपयुक्त ठाँउ २४ नं बाहिनिमाथि भण्डारीबाडा गाँउ नजिक सडक संजाल नजोडीएकाले समस्या छ ।

– वडा नं ३ को कार्यालय स्थापनाका लागी २ पटक प्रकाशित सार्वजनीक सुचनाका आधारमा निबेदन नपर्दा विवाद आएपछि समस्या छ । अनुपयुक्त स्थान, घर भाडा दर र सडकले नछोएको घरहरु कार्यालय स्थापनाका लागी बिवादित भएका हुन् ।

– वडा नं ४ को कार्यालयमा अन्य दुई वडाका कार्यालय गाभ्दा साँगुरो भवनमा फराकिलो तवरले काम गर्न समस्या छ ।

– तिन वडाले २÷२ कोठा कार्यालय प्रयोजन स्वरुप काम गर्दै आएको आँखा अस्पतालको ६ कोठे भवनको मासिक १५ हजार बढि भाडा चन्दननाथ नगरपालीकाले तिरीरहेको छ ।

सेवा प्रवाह प्रभावकारी रहेको दावी
तिन वटै वडा कार्यालय संयुक्त रुपमा संचालन भएपनि सेवा प्रवाहमा भने, कुनै कमजोरी नरहेको भन्दै सेवा प्रवाहलाई सजिलो, छिटो छरीतो रुपमा प्रभावकारी बनाइएको वडा कार्यालयका कर्मचारीहरुले दावी गरेका छन् । २ नं वडा सचिब मिना बुढ्थापालले भन्छीन्, ‘कार्यालय संयुक्त भएपछि सेवा भने छुट्टा छुट्टै प्रवाह हुन्छ, सेवाग्राहीलाई सेवा लिँदा कुनै समस्या छैन, तर नागरीकको घरदैलो सेवा प्रवाहमा मागका आधारमा आगामि दिनमा जोड दिन आवाश्यक छ’ ।

सेवाग्राहीहरुले सेवा लिन आँउदा ल्याएको आवाश्यक कागजातका आधारमा तत्काल सेवा दिएको वडा नं ४ कि वडा सचिब लक्ष्मी परियारले दावी गरीन् । कागजात मिलेन भने सेवाग्राही पुन ः प्रमाणको खोजिमा जाँदा सेवा प्रवाह ढिलो हुने उनले बताइन् । संयुक्त वडा कार्यालय नगरपालीकाको हाताभित्र भएकाले आवाश्यक सोध पुछ गर्न र कुनै वडाको कर्मचारी नभएमा अर्को वडाको कर्मचारीले काम गरी दिने बातावरण मिलाउन सहज भएको कर्मचारीहरुले बताएका छन् ।

कार्यालय छुट्याउदै जनप्रतिनिधि
एउटै छानोमुनी संचालन तिन वटै वडा अध्यक्षहरु नागरीकको माग र आवाश्यकताका आधारमा वडामै कार्यालय स्थापना गर्ने तरखरमा रहेका छन् । त्यसका लागी आवाश्यक मापदण्डका आधारमा सर्बसहमती जुटाउने प्रक्रिया अघि बढिसकेको २ नं वडा अध्यक्ष धनरासी भण्डारीले बताए । उपयुक्त स्थानको खोजी, भाडाको घर छनोट र आर्थिक स्रोतको खोजी गरी तत्काल वडामै कार्यालय स्थापना गर्ने उनको भनाइ छ । ‘गाँउमै वडा कार्यालय हुदाँ अपांग, अशक्तले पनि सेवा सहज रुपमा पाँउछ, संयुक्त वडा कार्यालय उपयुक्त होइन, बाध्यताले केहि समय सँगै छौ, तर आफ्नै वडामा कार्यालय स्थापना गरेर जनताको घरदैलो सेवा प्रवाह गर्नेछौ’ ३ नं वडा अध्यक्ष नन्दबहादुर बुढ्थापाले भने,

यता कार्यकारी नगरअधिकृत लक्ष्मीप्रसाद उपाध्यायका अनुसार वडा कार्यालय ब्यवस्थापनमा समस्या आएपछि नगरपालीकाले तत्कालका लागी एउटै छानोमुनि बसेर सेवा प्रवाह गर्न दबाब दिएको हो । उनले भने, ‘नगरपालीकाले अहिले सबै वडा कार्यालयको भाडा तिरीरहेको छ, छुट्टा छुट्टै वडा कार्यालय हुन्छ, नगरपालीका र देशकै आर्थिक अवस्था कमजोर भएकाले तत्काल आफ्नै भवनमा वडा कार्यालय संचालन गर्न संभव छैन, तर हाम्रो पहल निरन्तर रहनेछ’ । नगरपालीकाका १० वडा मध्य अहिले ७ वडा कार्यालय भाडाकै घरमा संचालन भएका छन् ।

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस