माल्दिभ्समा कालसंकट लम्ब्याउने तयारी

एजेन्सी ः माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनले देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउन संसद्लाई अनुरोध गरेका छन् । राष्ट्रपति यामिनले थप १५ दिन सकंटकालको अवधि लम्बाउन सोमबार संसद्लाई आग्रह गरेका हुन् ।

माल्दिभ्समा गत फेबु्रअरी ५ देखि संकटकाल लागू भएको थियो । यही फेब्रुअरी १ मा माल्दिभ्सको सर्वाेच्च अदालतले राजधानी मालेको एक जेलमा रहेका पूर्वराष्ट्रपति मोहम्मद नासिद र पूर्वउपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्न आदेश दिएको थियो ।

अदालतले सबै राजनीतिक बन्दीलाई रिहा गर्नसमेत आदेश दिएको थियो ।  तर, राष्ट्रपति अब्दुल्लाह यामिन उनीहरूलाई रिहा गर्न नचाहेकाले अदालत, संसद् र सरकारबीच विवाद उत्पन्न भएको थियो । राष्ट्रपतिले अदालतको फैसलाको आलोचना गरेका थिए ।

फैसलालगत्तै सर्वोच्च अदालतका प्रधानन्यायाधीश र अर्का एक न्यायाधीश पनि पक्राउ परेका थिए । सर्वोच्चको फैसलापछि उत्पन्न राजनीतिक संकटपछि सरकारले संकटकालको घोषणा गरेको थियो । आफूमाथि संसद्मा महाअभियोग लाग्न सक्ने आशंकामा राष्ट्रपतिले संकटकाल घोषणा गरेका थिए ।

संकटकालपछि सर्वोच्च अदालतले राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने आफ्नो फैसला उल्टाइदिएको थियो । राष्ट्रपति अब्दुल्ला यामिनले प्रधानन्यायाधीशसहित सर्वोच्चका दुई वरिष्ठ न्यायाधीशलाई गिरफ्तार गर्न लगाएको भोेलिपल्ट सर्वोच्चले आफ्नै फैसला उल्टाएको थियो ।

सर्वोच्चका बाँकी रहेका तीन न्यायाधीशले ‘राष्ट्रपतिले देखाएका चिन्ताका बीच’ आफूहरूले यसअघिको निर्णयलाई खारेज गरेको बताएका थिए ।

संयुक्त राष्ट्रसंघले माल्दिभ्समा जारी गरिएको सकंटकाल घोषणालाई फिर्ता गरी सम्पूर्ण नागरिकको सुरक्षाको प्रत्याभूत गर्न माल्दिभ्स सरकारसँग आग्रह गर्दै आएको छ । राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेजले माल्दिभ्सको संकटकाल समस्याको समाधान नभएको बताएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस