बलात्कारको घटना गाउँमै मिलाउन तीन लाख असुलि

गमगढी । सोरु गाउँपालिका(२ बस्ने २० वर्षीया युवतीले आफू बलात्कारमा परेको भन्दै सोही ठाउँ बस्ने २८ वर्षीय हिक्मत शाहीसहित उनका ६ जना आफन्तविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् ।

उनले गएको माघ १५ गते राती ८ बजे माइतीघरमा सुतिरहेका बेला कोठामा पसेर शाहीले आफूलाई बलात्कार गरेको आरोपमा फागुन १६ गते मुद्दा दर्ता गराएकी हुन् ।

माघ १६ गतेनै सोरुकोट प्रहरी चौकीमा निवेदन दर्ता गराउन जाँदा पीडकका आफन्तले बीच बाटोमै रोकेर पीडकबाट तीन लाख रुपैयाँ उपलब्ध गराइदिने भन्दै रोकेका थिए ।

मुद्दा मिलाइ दिने भन्दै प्रहरी चौकी जान रोक्ने पीडकका ६ आफन्तले तीन लाख रुपैयाँ लिइसकेको खुल्न आएको छ । शाहीले बलात्कार गर्दा आफू कराएको सुनेर छिमेकी नरजंग मल्लले उद्दार गरेको पीडितको भनाइ छ ।

माघ १६ गते जाहेरी दिन सोरुकोट प्रहरी चौकी जान खोज्दा त्यही गाउँका नरसुर शाही, नरवीर छन्त्याल, भक्त शाही, कृष्ण मल्ल, पुर्णबहादुर मल्ल र जिमा गाउँका पूर्णप्रसाद भट्टले बाटैमा रोकेर मुद्दा मामिला गर्दा दुवैलाई लाज हुने बताएका थिए ।

मुद्दा हाल्ने तयारी गर्दागर्दै बीच बाटोबाटै फकाउनेले नै पीडकबाट गुपचुप मिलाउने भन्दै तीन लाख लिइसकेको खुल्न आएको छ । त्यसपछि थप पीडा सहन नसकी गाँउबाट भागेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन आएको पीडितका आफन्तले बताए ।

पीडकका परिवारले समेत तीन लाख दिएर सबैकुरा मिलायौं भन्दै गाउँघरमा हल्ला गरेको उनको गुनासो छ । फागुन १५ गते उजुरी दर्ता भएपछि त्यहीदिन जिल्ला अस्पतालमा पीडितको स्वास्थ्य जाँच पनि गराएको छ ।

घटनामा संलग्नलाई पक्राउ गर्न सोरुकोट प्रहरी चौकी तथा मातहतका निकायलाई निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।

पीडितलाई यथाशक्य न्याय दिलाउन आवश्यक कानुनी प्रक्रियाको लागि बार एसोसियनमा पठाइ फागुन १५ गते मुद्दा दर्ता गरिएको महिला तथा बालबालिका कार्यालयकी सहायक निरीक्षक भगवत गिरीले बताइन् ।

अन्नपुर्ण पोष्टबाट

प्रकाशित मिति : २०७४ फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस