शुभाकर विश्वकर्मा,मुगु । मुगु जिल्लाका सरकारी विद्यालयमा कार्यरत राहत दरबन्दीम्ाँ कार्यरत शिक्षकहरुले विभिन्न माग राख्दै आन्दोलित भएका छन् । लामो समय देखि राहत दरबन्दिमा कार्यरत रहे पनि सरकारले विभिन्न सेवा सुविधाबाट बञ्चित गराएको भन्दै उनीहरुको आन्दोलित भएका हुन् । राज्यले राहत दरबन्दिका शिक्षक अन्यायमा परेको भन्दै संघर्षमा उत्रनु परेको उनीहरुले बताएका छन ।
अन्य शिक्षक सरह विद्यालयमा खटिए पनि पारिश्रमिक न्युन भएको , आन्तरिक शिक्षक सरह दुर्गम भत्ता उपलब्ध नगराएको, योग्यता पुगेका राहत शिक्षक कार्यरत विद्यालयमा प्रधानाध्यापक हुन पाउने व्यवस्था नभएको , पोषाक खर्च व्यवस्था नभएको तथा पायक पर्ने स्थानमा सरुवा गर्न नमिल्ने जस्ता विभेदकारी कार्य सरकारले गर्दै आएकाले आफुहरु संघर्षमा उत्रनु परेको राहत शिक्षक संघर्ष समितिले जनाएको छ ।
आफनो मागहरु समयमा नै पुरा नगरे आउदो वैशाख १ गते देखि विहान दश बजेबाट दिउसो एक बजेसम्म मात्र विद्यालयमा काम गर्ने समेत निर्णय गरेको समितिका अध्यक्ष पञ्च सेजुवालले जानकारी दिए । संघर्षका लागि सेजुवालको अध्यक्षतामा ९ सदस्यीय राहत शिक्षक संघर्ष समिति गठन गरिएको छ ।
उपाध्यक्षमा केन्द्रबहादुर कार्की, सचिवमा टिका प्रसाद उपाध्याय, कोषध्यक्षमा विरबहादुर बम, सदस्यहरुमा डिलेन्द्र मल्ल, मेजबहादुर बुमी, मायादेवी खड्का, शारदाकुमारी शाही र रतनबहादुर शाही रहेका छन ।
जिल्लामा गठन गरिएको राहात शिक्षक संघर्ष समितिले जिल्लाका ४ वटै स्थाानिय निकाय र जिल्ला शिक्षा कार्यालय मुगुमा आफना ६ बुदे माग सहितको ज्ञापन पत्र प्रस्तुत गरेको छ । बिध्यालयमा शिक्षकले निरन्तर खटेमा पुरस्कृत गर्नुका साथै राहात शिक्षकका मागका सम्बन्धमा पनि पहल गरिने सोरु गाउपालिकाका अध्यक्ष लोकबाहदुर शाहीले बताए ।