
जुम्ला ः तातोपानी गाउँपालिका ४ गिडीखोला गाउँमा आगलागीवाट एक घर जलेर नष्ट भएको छ । मंगलवार साझ लागेको आगो वुधवार विहान मात्र आगो नियन्त्रण गरियो । चारैतिरवाट आगो लागेपछि स्थानीय र प्रहरीले नियन्त्रणमा लिन खोज्दा पनि आगो समयमा नियन्त्रण भएन । स्थानीय पुर्णप्रसाद न्यौपानेका अनुसार आगलागी कसरी भयो भन्ने विषय अन्यौल नै छ ।
घरमुली लक्ष्मण पाण्डे धामीझार्की हेराउनको लागि साझ पख पुख्यौली घरमा गएका थिए । उनको चार जनाको परिवार फर्किने भनेर गाउँ गएको थियो, लक्ष्मण घरको सुरक्षाका लागि भएपनि फर्कने भन्दै थिए, स्थानीय पुर्णप्रसाद न्यौपानेले भने एक्कासी घरमा आगो लाग्यो । उनले भने, परिवार गाउँमा हिडेको केहि समयमै आगो लाग्न सुरु भइसकेको थियो । उनको चार जनाको परिवार छ । राति गाउँलेले फोन गरेर घरमा आगलागी भएको जानकारी गराएपछि मात्रै उनीहरु हतार हतारमा घरमा फर्केका थिए ।
घरमुली लक्ष्मणले भने, ‘आगो लागेर घर नष्ट हुँदा विस्थापित भएका छौँ । गाउँमा गएर अर्काको घरमा बस्न बाध्य भएको उनले दुखेसो पोखे । घरभित्र राखेको मोटरसाइकल स्थानीयले बाहिर ल्याइसकेका थिए । घरबाहिर रहेको डिजेलको ड्रम र युरिया मलको बोरामा आगो लाग्न सकेन । उनी होटल तथा पसल व्यवसायी हुन । ‘आगो लाग्ने वित्तिकै दमकलको लागि चन्दननाथ नगरपालिकामा फोन गरेका थियौ,’ स्थानीय पुर्णप्रसादले भने ‘दमकल सुर्खेत तिर गइसकेको जानकारी पाएपनि आगो निभाउनको लागि कुनै उपाय भएन ।’ आगलागीवाट झण्डै ९० लाख वरावरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले भने, ‘सामान्य आगो लागेको होला भन्ठानेका थियौ, तर स्थलगत रुपमा हेर्दा घर नै नष्ट भएर घरभित्रका कुनैपनि सामाग्री वचेको देखिएन ।
घरभित्रको अन्नपात, लत्ताकपडा व्यापारका लागि राखेको खाद्यान्न, दैनिक उपभोग्य सामान सबै जलेर नष्ट भएको छ । उनको घर तातोपानी गाउँपालिकाकै सबैभन्दा महंगो र सजावटका दृष्टिले उत्कृष्ठ नै थियो ।
तत्काल राहत स्वरुप १५ हजार रुपैया प्रदान
जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पौडेलले स्थलगत रुपैमै पुगेर तत्काल राहत स्वरुप १५ हजार रुपैया राहत उपलव्ध गराएका छन् । उनले जिल्लामा रेडक्रसको काम प्रभावकारी नभएकोले तत्कालका व्यवस्थापनका लागि १५ हजार रुपैया उपलव्ध गराएको वताए । तीन तलाको उक्त घरका १२ वटा कोठा थिए । आगलागीपछि परिवार गाउँमा गएर बस्न बाध्य भएका छन् ।