
जुम्ला ः कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला जिल्लामा लैङ्गिक विभेद कायमै रहेको छ । ‘छोरी जन्मिए फर्सी, छोरा जन्मिए खसी’ भन्ने नेपाली उखान कर्णाली भेगमा चरितार्थ हुने गरेको छ । यहाँ छोरा जन्मिएपछि सिन्दुर जात्रा, भोजभतेर र रमाईलो गर्ने प्रचलन अझै कायम छ । घरमा छोरीको जन्म भएपछि खासै यस्तो सिन्दुर लगाएर रमाईलो गर्ने चलन छैन । राज्यले लैङ्गिक विभेद गर्न नहुने र यस विषयमा जनचेतना जगाएपनि यसको प्रभाव भने देखिएको छैन ।
जुम्ला पातारासी गाउँपालिका ८ हुरीगाउँकी करिश्मा बुढाले गएको आइतबार छुमचौर स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा छोरा जन्माईन् । उनका परिवार र छरछिमेकले छोरा जन्मिए पछि स्वास्थ्य चौकीमै एक अर्कालाई सिन्दुर लगाएर खुशीका साथ घर फर्किए । गाउँ समाजमा छोरा जन्मिएको ११ दिनपछि लाखौँ रकम खर्चेर भोजभतेर गरेर खुशीका साथ रमाईलो गर्ने प्रचलन छ । तर छोरी जन्मिए पछि खुशी हुनु भन्दा पनि दुस्खी भएको महशुस गर्ने र सुत्केरी आमालाई पोषणयुक्त खानामा पनि ध्यान नदिने परिपाटी छ ।
त्यसैगरी गएको हप्ता डिल्लीचौर स्वास्थ्य चौकीमा पातासारी गाउँपालिका ४ लुमगाउँकी सरस्वती कामीले छोरी जन्माईन् । सरस्वती सुत्केरी भएपछि हतारहतार गर्दै घर फर्काए तर त्यहाँ छोरा जन्माएपछि गरिने सुन्दर लगाउने र रमाउने दृश्य भने देखिएन ।
छोरीको भ्रुणमै हत्या हुन्छ
‘समाजमा छोरीको भन्दा छोराको महत्व धेरै हुन्छ भन्ने मान्यता बोक्दै अशिक्षित देखि शिक्षित व्यक्तिहरुले गर्भमा नै भु्रण हत्या गर्ने गरेको पाईन्छ’ तिला गाउँपालिकाकी उपप्रमुख विष्णुमाया बुढाले बताईन् । उनले भनिन्–‘शिक्षित व्यक्तिहरुले नै यस्ता किसिमका काम गर्दै आएका छन् । पहिलो छोरी जन्मिने वित्तिकै दोस्रो पटक सन्तान जन्माउने अधिकांश व्यक्तिले भिडियो एक्सरे मार्फत छोरा छोरी पहिचान गर्ने र छोरी भएप नजन्माउने गरेका छन् ।’ गैर कानुनी रुपमा यस्ता प्रकार घटनामा समाजमा यत्रतत्र देखिने सुनिने भएपनि खासै यसमाथि कानुनी कारवाही भने भएको पाईदैन ।
छोराको मोहले एकै घरमा ११ छोरीको जन्म
तिला गाउँपालिका ३ फुयालवाडाका पुसे नेपाली अहिले ६५ वर्षका भए । पुसे नेपालीले १४ वर्षको उम्मेरमा रिठु नेपालीसंग बैबाहिक सम्बन्धमा जोडेका थिए । बिहे भएको वर्ष दिन वित्दै पहिलो सन्तानका रुपमा छोरी कमला जन्मिएको आमा रिठु नेपालीले बताईन् । समय वित्दै जादाँ दोस्रो पटक पनि छोरी नै जन्मिईन् । छोरा नभए समाजले हेप्ने, मर्दा पनि दाहासंस्कार गर्ने मान्छे नहुने र सम्पत्तिको हकदार छोरा हुनै पर्ने पुरातन सोचका कारण छोरा जन्माउनै पर्ने निष्र्कषमा नेपाली परिवार पुग्यो ।
छोरा जन्माउने आशले पुसे नेपालीका दम्पत्तिले अहिले ११ छोरी जन्माए । पुसेलाई अहिले लालनपालनमा निकै कष्ट भईरहेको छ । सबै छोरीलाई उपयुक्त शिक्षादिक्षा दिन उनको पारिवारिक अबस्थाले पनि पुगेन । अन्तिमका ३ जना छोरीहरु अहिले ३, ४ र ५ कक्षामा पढ्छन् ।
पालन पोषणको अभावमा ३ छोरीको मृत्यु
पारिवारिक अबस्था निकै कमजोर भएका पुसे नेपाली छोरा पाउने आसै आशामा ११ छोरी जन्मेपछि उनले कसैलाई उपयुक्त लालनपालन गर्न सकेनन् । उनका ११ छोरी मध्ये पालनपोषणकै अभावमा ३ छोरीको ज्यान गयो । त्यस पछिका ८ जना छोरी मध्ये ४ जनाले सानै उमेरमा बालबिबाह गरेर अर्काेको घर गए । अहिले ४ छोरी र श्रीमान श्रीमति घरमा छन् ।
छोराको मोहले बहुविबाह गर्छन्
जुम्लामा छोराकै मोहले बहुबिबाह हुने गरेको छ । अन्य कारण भन्दा ९० प्रतिशत अघिल्लो श्रीमतिबाट छोरा नजन्मे पछि दोस्रो बिबाह हुने गरेको हो । छोरा जन्माउनु जुम्लामा पारिवारिक तथा सामाजिक दबाब जस्तो बनेको छ ।
बहुविबाह गर्नुको औपचारिक कारण नखुले पनि अरु भन्दा अघिल्लो श्रीमति छोरा पाउन नसकेकै कारण बहुविवाह हुने गरेको अधिकारकर्मी भगवती श्रेष्ठले बताईन् । ‘पछिल्लो समय छोरा छोरी बराबर हुन, भन्दै बहुविबाह रोक्न विभिन्न सचेतीकरण कार्यक्रम हुने गरेपनि घटना न्यूनिकरण भएका छैनन’् उनले भनिन् ।