रामेछाप ः जिल्लाको खाँडादेवी गाउँपालिका ६ माकादुमकी २५ वर्षिय तारा केसीले गए राती आफ्ना २ छोरीलाई आगो लगाई हत्या गरेकी छिन। १० बजे बाँसका भाटाले बारेको कटेज भित्र बच्चा सुतेको अवस्थामा बच्चाको छेउमा खर राखेर आगो बाले पछि सो आगोले बच्चा सहित कटेज समेत जलेको थियो। कटेजमा लागेको आगोले डढेर ४ वर्षिय छोरा विपीन खत्री र २ वर्षिय छोरी रमिता खत्रीको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि राती नै इलाका प्रहरी कार्यालय चोप्राङबाट पुगेको सुरक्षाकर्मीले आगो लगाउने तारा खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजकुमार थापाले जानकारी दिए। घटनास्थलको मुचुल्का गरी दुवै बालबालिकाको शव पोष्मार्टमका लागि जिल्ला सदरमुकाम ल्याइ सकिएको थापाले जानकारी दिए।
करिब ६ बर्ष पहिले तारासँग बिवाहका गरेका दिल बहादुर खत्रीले ३ बर्ष अघि मात्र कान्छी श्रीमती समेत ल्याए पछि उनीहरुबीच बेलाबेलामा बिवाद हुदै आएको प्रहरीले जनाएको छ। दुइवटी श्रीमती भएपनि उनले दुबै श्रीमतीलाई आफ्नै संरक्षणमा फरक फरक कटेज बनाएर राख्दै आएका थिए। पछिल्लो समय श्रीमानले सौता ल्याएपछि ताराले मानसिक हिसावले फरक व्यवहार देखाउँदै आएको प्रहरीले जनाएको छ। त्यही फरक व्यवहारका कारण अप्रिय घटना घटेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनायो।
घटनाको प्रारम्भिक अनुसन्धानमा पति दिलबहादुर खत्रीले कान्छि श्रमिती ल्याएको र आफुसँग नवसेको आवेसमा तारादेवीले बालबच्चालाई आगो लगाएको बताइएको छ। खत्रीको कान्छि श्रीमती तर्फ पनि २ सन्तान रहेको छन्। गए राती पनि दिल बहादुर जेठी श्रीमतीकोमा ९ बजे सम्म बसेर छोरा छोरी सुताएर कान्छी श्रीमती भएको स्थानमा गएपछि घटना भएको प्रहरीले जनाएको छ।
जेठी र कान्छी श्रीमती करिब ३ सय मिटर टाढाको छुट्टा छुटटै कटेजमा बस्दै आएका थिए। घर वरपर बस्ती अलि टाढा भएको र रातको समय भएकाले स्थानीयले तत्काल आगो लागेको थाहा पाउन नसक्दा आगोले बालबालिका पूर्ण रुपमा जलेका थिए । कटेज आधा सल्किए पछि थाहा पाएर पुगेका स्थानीय आगो नियन्त्रणमा लिएर बालबालिकालाई बचाउन नसकेको प्रहरीको भनाइ छ।
घटनाको अनुसन्धानका लागि प्रहरीले दिल बहादुर खत्री र तारा केसीलाई नियन्त्रमा लिएर मन्थली ल्याएको छ । बालबालिकाको शब पनि पोष्टमार्टम गर्दै गरिएको प्रहरीले जनाएको छ । घटनको थप अनुसन्धान गरी कार्वाही अघि बढने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।