छुईगोठ मुक्त गर्दै माथिल्होर्प गाउँका महिला


पातारासी गाउँपालिका ५ माथिल्होर्प गाउँका महिलाहरुले छुईगोठ मुक्त गरेका छन् । सदियौँ देखि समाजमा जगडिएर रहेको कृस्कार छुई भएको अवस्थामा गोठमा नबस्ने भन्दै मुक्त गरेका हुन् ।
माथिल्होर्प गाउँका महिला तथा पुरुषहरुको अगुवाई तथा पातारासी गाउँपालिका र सर्वाेदय नेपाल जुम्लाको प्राविधिक समन्वयमा उक्त गाउँ तथा बस्तीलाई चैत्र ५ गते छुईगोठ मुक्त घोषणा गरिएको हो ।
छुईगोठ मुक्त अभियान कर्ता तथा कार्यक्रमकी सभाध्यक्ष दिपा बुढाले आजका मितिबाट हामी महिला ७ दिने जेलबाट मुक्त भएको बताईन् । उनले भनिन् छुई अर्थात महिनावारी भएको अवस्थामा हामी महिला ७ दिनसम्म छुईगोठमा विभिन्न कष्टका साथ रात विताउने गरेका थियौँ । अव हामी महिला सचेत भएका छौँ महिनावारी भएको अवस्थामा छुईगोठमा बस्दा विभिन्न रोगबाट सक्रमित हुनु साथै असुरक्षित हुने गरेकाले सरसफाई गरी घरभित्रै बस्ने अठोट गरेका छौँ ।


पातारासी गाउँपालिकाका प्रशासकिय अधिकृत रामबहादुर बुढाले छुई अर्थात महिनावारी हुनु भनेको यो एक प्राकृतिक प्रक्रिया हो, हामी सचेत नागरिकले समाज रहेको कुस्कारलाई न्यूनिकरण गर्दै सव्य समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
छुईगोठ मुक्त अभियान्ता सर्बाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले छुई अर्थात महिनावारी स्वभाविक प्रक्रिया हो तर यसको गलत अर्थ लगाएर समस्या भएको बताए । उनले यो कुस्कार छुईप्रथालाई समाजबाट निमुलीकरण गर्नुपर्ने भन्दै यस अभियानलाई निरन्तरता दिने जोड दिए ।


छुईगोठ मुक्त अभियान कर्ता सम्मानित
छुईगोठ मुक्त अभियान कर्ता दुई जोडी सम्मानित भएका छन् । पातारासी गाउँपालिका ५ माथिल्होर्प गाउँका प्रकाश बोहोरा र उनकी पत्नि सुस्मा बोहोरालाई सम्मान गरिएको हो । त्यसैगरी मष्टोका धामी दिपकबहादुर बुढा र उनकी पत्नि पुष्पा बुढालाई पनि सम्मान गरिएको वडाअध्यक्ष डिलबहादुर बुढाले बताए । सम्मानित अभियान्ताहरुलाई ढाँका टोपी र दोसल्लाह ओडाएर सम्मान गरिएको थियो ।


जुम्लाका सात गाउँबस्ती छुईगोठ मुक्त घोषणा
जुम्लाका सात वटा गाउँबस्ती छुईगोठ मुक्त घोषणा भएका छन् । पातारासी गाउँपालिका वडा नम्बर ५ मा पर्ने माथिल्होर्प र लल्लोल्होर्प, तिला गाउँपालिकाको ढिमकोट, रावतवाडा र गोडीबाडा छुईगोठ मुक्त घोषणा भएका छन् भने त्यसै गरी तातोपानी गाउँपालिकाको श्रीनगर र हियाखोला छुईगोठ मुक्त भएका थिए । जुम्लाका सयौँ गाउँबस्ती मध्ये सात वटा गाउँबस्ती छुईगोठ मुक्त भएको हुन् ।

 

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस