हुम्लाका आगलागी पीडित १९ दिनदेखि खुल्ला आकाशमुनी

हुम्ला ः ओत लाग्ने वैकल्पिक व्यवस्था नहुँदा ताजाकोट गाउँपालिका १ स्थित काँडा जिमाना गाउँका २४ घरधुरीका  आगालागी पीडित फागुन १८ गतेदेखि खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् ।

फागुन १८ गते राति १० बजे अज्ञात व्यक्तिले स्थानीयबासी हरिबहादुर रिसालको गोठमा आगो लगाई भागेपछि उक्त गाउँका २४ घरधुरीका परिवार ध्वस्त भएपछि स्थानीय बिचल्लीमा परेका हुन् । रातिको समयमा आगलागी हुँदा आगो नियन्त्रण गर्न नसकिएको स्थानीयबासी जगतबहादुर शाहीले बताए ।

आगलागी पीडितलाई राहतको लागि जिल्ला प्रशासन कार्यालयमा फागुन १९ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले गृह मन्त्रालयमा १५ क्वीन्टल खाद्यन्न उपलव्ध गराउन माग गरे पनि नेपाल सरकारले भने एक क्वीन्टल ६० केजीमात्र उपलव्ध गराएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । नेपाल सरकारबाट प्राप्त खाद्यान्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घटनास्थलमा पुगेर पीडितलाई वितरण गरेका थिए ।

नेपाल सरकारले दिनुपर्ने खाद्यान्न पुरा मात्रामा उपलव्ध नगराएपछि उनीहरू पीडित भएका हुन् । नेपालको संविधानको धारा ३० को उपधारा (२) मा वातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदुषणबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था छ । तर, सोसम्बन्धी कानुन नहुँदा यस घटनाका पीडितमा उक्त कानुन लागु भएको छैन ।

त्यस्तै धारा ३६ को उपधारा (२) मा प्रत्येक नागरिकलाई खाद्यबस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने र उपधारा (३) मा प्रत्येक नागरिकलाई कानुनबमोजिम खाद्य सम्प्रभुताको हक हुने व्यवस्था गरिएको भए पनि हुम्लाका आगलागी  पीडितहरूको माग पुरा नभएको गुनासो गरेका छन् । धारा ३७ को उपधारा (१) मा नागरिकलाई उपयुक्त आवासको हकको व्यवस्था गरेको भए पनि यहाँका २४ घरदुरीका घरपविार खुल्ला आकाशमा जीवन जिउन बाध्य भएका छन् । यसमा सरोकारवाला निकायको ध्यान जानु जरूरत देखिएको छ ।

आगलागीमा दुई व्यक्ति घाइते, २४ घर जलेर पूर्ण रूपमा नष्ट भएका थिए भने १ सय ५० बाख्रा र ६ वटा अन्य पशु जलेर मरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपालले बताए । डिएसपी नेपालका अनुसार घाइते व्यक्तिलाई नेपाली सेनाको हेलिकप्टरबाट फागुन १९ गते सुर्खेत उद्धार गरिएको थियो ।

प्रकाशित मिति : २०७४ चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस