
जुम्ला ः तिला गाँउपालिका ३ दलित बस्तीमा एक दिने निशुल्क विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आर्थिक अवस्था कमजोर भएका कारणले स्वास्थ्य उपचार गराउन नसक्ने दलितलाई लक्षित गरी निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा महिलाको पाठेघर समस्याको जाँच, बाल स्वास्थ्य, साधारण चेक, हाडर्जाेनी तथा नसारोग सम्वन्धीको समस्याको चेकजाँच गरिएको थियो ।
जिल्लामा पुगेर उपचार गराउनबाट बञ्चित रोगले ग्रसित स्थानीय व्यक्तिहरुले आफ्नो घर दैलोमा नै आएर जिल्लामा हुने स्वास्थ्य सेवा लिन पाएको स्थानीय लालसिंह बुढाले बताए । रोग पालेर घरमा बसिरहेका आर्थिक अवस्था कमजोर भएको विपन्न दलित व्यक्तिलाई मात्र नभई सवै विरामीले विशेषज्ञ सहतको निशुल्क स्वास्थ्य उपचार लिन पाएको उनले बताए ।
अहिलेसम्म कुनै पनि स्वास्थ्य उपचार नलिएका उमेर ६२ बर्ष नाघेका भिमबहादुर शाहीले निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने जानकारी पाएपछि तिन घण्टाको बाटो हिडेर स्वास्थ्य शिविर संचालन भएको स्थानसम्म पुगेका थिए । उनले भने जिल्लाबाट विशेषज्ञ डाक्टरहरु आउने भने पछि स्वास्थ्य उपचार गराउन आएको बताए । उनलाई हाडर्जाेनी सम्वन्धी समस्याले सताएको रहेछ तर हाडजोर्नी सम्वन्धी विशेषज्ञ डाक्टर धनबहादुर कार्कीले उनको रोगलाई जाँच गरी सके पछि अव निको हुने आशाका साथ घर फर्किएको शाहीले बताए ।
जुम्लाका अधिकांश महिलाहरुको पाठेघरको समस्याले पिडित भएका छन् । महिलाको पाठेघर खस्नुको मुख्य कारण कम उमेरमा विबाह गर्नु, आफ्नो क्षमता भन्दा बोझपूर्ण भारी बोक्नुका साथै आफ्नो स्वास्थ्यको ख्याल नगर्नुले जुम्लाका महिलाहरुमा आंग खस्ने समस्या दिन प्रति दिन बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् ।
निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर दलित बस्तीमा गरिएको कुडारी स्वास्थ्य चौकीका इन्र्चाज विरेन्द्रप्रसाद उपाध्यायका अनुसार अब निकट दिनमै दुर्गमका बस्तीमा पनि निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने छौँ । तिला गाउँपालिको ३ मा धेरै घर दलित बस्ती भएको कारणले यो शिविरमा विशेष गरी विपन्न दलित समुदायलाई स्वास्थ्य उपचारको पहुँचमा पुग्नका लागि सहज होस भनेर शिविर संचालन गरिएको उनले बताए ।
तिला गाँउपालिका ३ को फुयाल गाँउ र दानी गाँउका १०० दलित घरधुरीका घरपरिवारलाई लक्षित गरी निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेपनि त्यहाँका सवै विरामीले स्वास्थ्य उपचार गराएको थियो । शिविरमा तिन सय ५० भन्दा बढी विरामीले स्वास्थ्य उपचार गराएका थिए । उपचार गराउनेमा सवै भन्दा हाडर्जोनी सम्वन्धी समस्या भएका विरामी र पाठेघरको समस्या भएका विरामीले शिविरबाट उपचार लिएका छन् । कुडारी स्वास्थ्य चौकीको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रविधिक सहयोगमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।