
कमलराज खत्री । काठमाडौँ
निर्वाचन पर्यवेक्षण समिति(इओसी) नेपालले स्थानीय तह, प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन २०७४ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवको प्रमुख आतिथ्यतामा प्रतिवेदन लोकार्पण कार्यक्रम चैत १६ गते सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि डा यादवका साथै अतिथिहरु निर्वाचन आयुक्त सुधिरकुमार शाह, पूर्व आयुक्त डा. विरेन्द्र मिश्र, नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसी, प्रा. गीता पाठक संग्रौला र संस्थाका अध्यक्ष प्रदिप पोखरेलद्वारा सामूहिक रुपमा लोकार्पण गरिएको थियो ।
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, गैसस महासंघका अध्यक्ष गोपाल लम्साल, प्रा.डा. कपिल श्रेष्ठ लगायतका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख अतिथि डा. यादवले पर्यवेक्षणका लागि नेपाली संघसंस्था नै संस्थागत भैसकेको बताए । उनले नेपाली संस्थाहरुले गर्ने पर्यवेक्षण नेपाली परिवेशका आधारमा हुनेहुँदा उनीहका सल्लाह सुझावहरु महत्वपूर्ण हुने बताए ।
त्यसैगरी निर्वाचन आयोगका आयुक्त सुधिरकुमार शाहले इओसीले उठाएका सवालहरुमा स्पष्ट पारेका थिए । ज्यादै चुनौतीपूर्ण अवस्थामा शान्तिपूर्ण रुपमा निर्वाचन गराउन सक्नु नै निर्वाचन आयोगको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले सरकारले निर्वाचनको मिति तोक्दा पनि निर्वाचन कानुन ल्याउन ढिला गर्दा आयोगले निर्वाचनका कामहरु समय दिएर गर्न नसकेको बताए ।
मतदाता शिक्षा अपेक्षित नभएको स्वीकार्दै उनले यसका लागि राजनीतिक दलहरुले पनि आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए । निर्वाचन आचारसंहिता नैतिकताको पनि प्रश्न भएको बताउँदै सरकारले नै आचारसंहिता मान्दैन भने निर्वाचन आयोगले के गर्ने ? भन्ने प्रश्न महत्वपूर्ण सवाल रहेको छ, भन । हिमाली क्षेत्रहरुमा मतपत्र लिएर जाँदा र ल्याउँदा हेलिकप्टरको प्रयोग गर्नुपर्दा पनि निर्वाचन महँगो हुन गएको स्पष्ट पार्दै आगामी दिनमा निर्वाचन खर्च कम गर्ने उपायको खोजि गरिनु पर्ने बताए । सबै कामका लागि सरकारकै मुख ताक्नु पर्ने कानुनी बाध्यताका कारण निर्वाचन आयोगले थुप्रै आरोपहरु सहनु परेको धारणा राखे । बोल्ने क्रममै उनले इयुले हालै सार्वजनिक गरेको पर्यवेक्षण प्रतिवेदन पर्यवेक्षणको धर्म विपरित रहेको पनि बताए
पूर्व निर्वाचन आयुक्त प्रा.डा. विरेन्द्र मिश्रले मतदाता शिक्षा कमजोर भयो भन्ने टिप्पणीका सन्दर्भमा उनले समस्या मतदाता शिक्षामा नभै मतपत्रमा रहेको बताए । उनले जति बुथ संख्या बढी भयो उत्ति निर्वाचन सम्पन्न गर्न सहज हुने आफ्नो अनुभवसहितको धारणा राखे ।
काठमाडौ स्कुल अफ ल की प्रोफेसर गीता पाठक संग्रौलाले मतदाता शिक्षाका बारेमा आफ्नो धारणा राख्दै राज्यका निकाय पुग्न नसकेका ठाउँमा सचेत सबै नागरिकले आफ्नो जिम्मेवारीको रुपमा लिनुपर्ने बताए । ‘म उ भएको ठाउँमा भए के हुन्थ्यो’ भनेर सबैले सोचियो भने हरेक समस्याको समाधान भेटिने बताए ।
नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसीले निर्वाचन आयोगले युद्धस्तरमा निर्वाचन सम्पन्न गरेर सराहनीय काम गरेको भन्दै आयोगका पदाधिकारीहरुलाई पुरस्कृत गर्नुपर्ने बताए । निर्वाचन आयोगले निर्वाचन अघिका दिनमा निर्वाचन प्रक्रिया र प्रणालीका बारेमा सातै प्रदेशमा छलफल चलाउनु पर्ने धारणा राखे ।
कार्यक्रममा प्रतिवेदन बारे सारांश धारणा संस्थाका कोषाध्यक्ष एवम् प्रतिवेदनका सम्पादक मीना शर्माले राखिन् ।
महासचिव गोपालनाथ योगीको सञ्चालन, उपाध्यक्षको स्वागत मन्तव्य रहेको लोकार्पण कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष प्रदिप पोखरेलले इओसी नेपालले आगामी दिनमा मौन अवधिको विशेष अनुगमन गर्ने, निर्वाचन आयोगलाई सघाउने गरी मतदाता शिक्षालाई नागरिक शिक्षाका रुपमा अगाडि बढाउने बताए ।