
नन्दराम जैसी
जुम्ला । जिल्लाका स्थानीय तहमा बैंकिङ सेवा विस्तार हुदै गएको छ । आईतबार गुठीचौर गाउँपालिकाको वडा नं ५ झारज्यालामा सनराईज बैक लिमिटेडको शाखा विस्तार भएपछि जिल्लाका स्थानिय तहमा बैंकिङ सेवा विस्तार हुदै गएको हो । यसअघि जिल्लाको सिजा गाउँपालिका अन्र्तगत नराकोटमा नेपाल बंगलादेश बैकको शाखा विस्तार भैसकेको छ । दुई वटा स्थानिय तहमा बैंकिङ सेवा विस्तार भएपछि बाँकि ५ वटा स्थानिय तहमापनि छिटै बैंकिङ सेवा विस्तार हुने जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
जिल्लाको दुर्गम क्षेत्रमा रहेका स्थानीय तहमा बैङ्किङ सेवा नहुँदा सर्वसाधारणलाई सदरमुकामबाटै यो सेवा लिन सकस भैरहेको छ । स्थानीय तहमा बैङ्किङ सेवा नहुँदा गाउँपालिका र वडापालिकाहरु बैङ्किङ कारोवारका लागि सदरमुकाम खलंगामै धाउनुपर्ने बाध्यता छ, तर यो सेवाबाट सबैभन्दा बढी सर्वसाधारण नागरीक मारमा परेका छन् ।
गुठीचौर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत केशव शर्माका अनुसार गाँउपालिकालाई नियमित सदरमुकाममा गएर बैकिङ कारोवारो गर्नुपर्ने बाध्यता अब हट्ने भएको छ । गाउँपालिका नजिकै बैकको शाखा विस्तार भएपछि सेवा लिन सहज हुने भन्दै ठुलो परिणामको प्रसा बोकेर सदरमुकामबाट आँउदा जाँदाको त्रास अन्त्य भएको उनले बताए ।
गुठीचौर गाउँपालिकामा सनराईज बैक लिमिटेडको ७८ औँ शाखा विस्तार भएको हो । आगामि दिनमा यँहाका स्थानीय नागरिकदेखि कर्मचारी र कार्यालयको आर्थिक कारोवारोमा सहज हुने अपेक्षा गरीएको छ ।
गुठिचौर गाँउपालिका अध्यक्ष हरीबहादुर भण्डारीले भने, ‘नागरिकले सरकारी सेवा लिंदा भर्नुपर्ने बैंक भौचर, सामाजिक सुरक्षा भत्ता, उपभोक्तालाई रकम निकासा र रकम जम्मा, कर्मचारीलाई तलव खुवाउन र ब्यक्तिगत बैङ्किङ कारोवारका लागि सदरमुकाम पुग्नैपर्ने बाध्यता थियो । हाम्रो गाँउपालिकामा त्यो बाध्यता हट्यो ।’
जिल्लाका आठ वटा स्थानीय तहमध्ये सदरमुकाम रहेको चन्दननाथ नगरपालिका बाहेक अन्य सबै तहमा अहिले बैङ्किङ सुविधा उपलब्ध छैन । सिंजा क्षेत्रमा पर्ने हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिका जिल्ला सदरमुकाम खलंगा भन्दा करिव ४० कोश टाढा छन् । अन्य गाँउपालिकाबाट पनि आर्थिक कारोबारका लागि सदरमुकाम आउन सहज छैन । सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने उद्देश्यले स्थानीय तहहरु संचालन भएका छन्, तर हालसम्म पनि बैङ्किङ सेवा विस्तार नहुदाँ नागरिकले भने सास्ती व्यहोरिरहेका हुन् । हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले भने, ‘सरकारी र व्यक्तिगत आर्थिक कारोवारका लागि सुदरमुकाम पुग्नुपर्छ, यसले समय पनि खेर गएको छ । निकासा भएकोे ठूलो रकम आफै बोकेर ल्याउनु पर्दा बाटोमा चोरी हुने खतरा उतिकै छ, आर्थिक कारोबारका लागि सुरक्षा छैन, हामि छिटै बैंक शाखा विस्तार गर्नेछौ ।’
गाँउमा बैंकिङ सेवा सम्बन्धी स्थानीय बासिन्दा र सरकारी निकायले भोग्दै आएका सास्ती समाधानका लागि पहल भैरहेको तिला गाँउपालिकाले जनाएको छ । ‘देशकै दुर्गम क्षेत्रका स्थानीय तहमा बैङ्किङ सुविधा नहुँनु दुखद कुरो हो, हाम्रो क्षेत्रमा रहेको यो समस्यालाई मध्यनजर राख्दै यथासक्य सरकारी तथा नीजि बैङ्कका शाखा विस्तारको लागि आग्रह गर्नेछु, पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले भने ।’
कर्मचारी अभाव र बैङ्किङ सेवा नभएकै कारण कतिपय विकासे गतिविधि संचालन हुन नसकेको जनप्रतिनिधिहरुको भनाई छ । यता जुम्लाको सदरमुकाममा रहेका दर्जनबढि विभिन्न प्राईभेट बैंकहरुले स्थानीय तहमा विद्युत्, इन्टरनेट र टेलिफोनको असुविधाका कारण देखाउँदै सदरमुकाममै केन्द्रीत भएका छन् ।