एमाले र माओवादी केन्द्रबीच ९ वैशाखमा पार्टी एकता नहुने

काठमान्डौ/ एमाले र माओवादी केन्द्रबीच आगामी ९ वैशाखमा हुने भनिएको पार्टी एकता पर सरेको छ । आज बसेको एकता संयोजन समितिको बैठकपछि नेताहरूले ९ बैशाखमा एकता घोषणा नहुने जानकारी दिए । बैठकपछि नेता ईश्वर पोखरेलले कार्यदललेदिएको प्रतिवेदन अध्ययन गर्न दुई पार्टीका अध्यक्षले नभ्याएकाले एकताको घोषणा केहीदिन पर सरेको बताए ।

 

बिहान साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकमा कार्यदलले दिएको सुझावलाई गम्भिर छलफल गरेको थियो । बैठकमा अधिकांश विषयमा छलफल भइसकेको र अन्तिम रुप दिइएको बताइएको छ ।

एमाले नेता पोखरेलले अधिकांश विषयमा सहमती भएपनि वैशाख ९ गते एकता नहुने बताए । एकताका विषयमा खासै विवाद नदेखिएको र वैशाख ९ मा एकता गर्ने भनिएपनि प्रतिवेदन अध्ययनका लागि केही पर सरेको उनको भनाइ रहेको छ ।

प्रधानमन्त्री ओली भारत भ्रमण जानु अघि नै सवै विषय टुङ्ग्याउने भनिएपनि केहि विषयमा छलफल हुन बाँकी रहेको थियो । दुईवटै कार्यदलले एकता संयोजन समितिलाई चैत २० गते आफ्नो प्रतिवेदन बुझाएको थियो ।

चैत २२ गते समितिको बैठकमा खासै सहमति हुन सकेको थिजएन । प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्केपछि तीन पटक स्थगित भएको बैठक पुुनः मंगलबार विहान बसेको थियो ।
समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षहरूलाई दिएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस