गर्भपतन गराउनेमा अविवाहित किशोरी बढी

नन्दराम जैसी

जुम्ला । जुम्लामा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म मात्रै झन्डै ६ सय महिलाले सुरक्षित गर्भपतन गराएका छन्। तथ्यांकअनुसार अवैध सम्बन्धले गर्भ रहेपछि सुरक्षित गर्भपतन गर्नेहरूभन्दा अझै असुरक्षित गर्भपतन गर्नेको संख्या धेरै रहेको अनुमान छ।

‘गर्भपतन गराउनेमा १८ वर्षदेखि २२ वर्ष उमेरसमूहका अविवाहित किशोरी बढी छन्। चालू आर्थिक वर्षको हालसम्म एक सय १५ जना महिला, किशोरीले औजारको सहायताले सुरक्षित गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालयकी तथ्यांक सहायक कमला नाथको भनाइ छ। ‘गत वर्ष सात सय पाँच जनाले गर्भपतन गराएका थिए। यो वर्षको ६ महिनामै त्यसको ५० प्रतिशतले गर्भपतन गराउने संख्या बढेको छ’, उनले भनिन्।

अहिले जिल्ला स्वास्थ्य कार्यालय मातहातका चार स्वास्थ्य चौकी, मेरी स्टोप सेन्टर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ। गर्भपतन गराउनेमा अधिकांश १८ वर्षदेखि २२ वर्ष उमेर समूहका अविवाहित किशोरी र २३ वर्षदेखि ३० वर्षका महिला रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्सिङ अफिसर मुना दाहालले बताइन्।

कतिपय महिला, किशोरीले मेडिकलबाट औषधि लिएर आफैं गर्भपतन गर्दा समस्या देखिएपछि पुनः उपचारका लागि प्रतिष्ठानमा आउने गरेको उनको भनाइ छ। ‘असरबारे जानकारी हुँदाहुँदै पनि गर्भपतन गर्नेको संख्या बढिरहेको छ। कतिपय प्रक्रियाअनुसार स्वास्थ्य संस्थामै आउँछन्, कतिपयले विभिन्न उपाय अपनाएर घरमै असुरक्षित गर्भपतन गर्छन्’, उनले भनिन्, ‘यो निकै डरलाग्दो समस्या हो। गर्भपतन गर्ने महिला, किशोरीलाई अस्थायी साधन प्रयोग गर्ने तरिका र पाइने स्थानबारे जानकारी दिने गरेका छौँ।’

जोखिममा ज्यान

रक्तस्र्राव हुने, पाठेघरको क्यान्सर हुन सक्ने, बाँझोपन देखा पर्ने, कमजोरी तथा मानसिक असन्तुलन हुनेलगायत समस्या देखा पर्ने भएकाले गर्भपतन गर्ने महिलाकिशोरीको ज्यान जोखिममा रहेको चिकित्सकको भनाइ छ। यसबाट हुने असरबारे प्रचारप्रसार हुँदा पनि ज्यानै जोखिममा राखेर गर्भपतन गर्नेहरू बढेको प्रतिष्ठानकी अनमी कमला बुढाले बताइन्। गर्भपतन गराउनेको संख्या बढ्नुमा गरिबी, अशिक्षा र अवैध यौन सम्पर्क नै मुख्य कारण रहेको उनको भनाइ छ। ‘शिक्षित युवा पनि महिलालाई दबाब दिएरै गर्भपतन गराउँछन्, कतिपय महिला अवैध सम्बन्धबाट रहन गएको गर्भपतन गर्छन्’, उनले भनिन्।

भ्रूणहत्या पनि बढ्यो

पछिल्लो समय भ्रूणहत्या पनि बढ्दै गएको छ। सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएसँगै भूणहत्या गर्नेहरू बढेका हुन्। चार÷पाँच छोरी जन्मिसक्दा पनि छोरा जन्माउने आशाले श्रीमान्को दबाबमा एउटै महिलाले बारम्बार गर्भपतन गराउने गरेका छन्।

प्रकाशित मिति : २०७५ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस