
काठमाडौं । एमाले(माओवादी विधिवतरूपमा विघटन भएका छन् । दुई पार्टीको एकीकरण पश्चात् बन्न लागेको ‘नेपाल कम्युनिष्ट पार्टी’को सचिवालय टिम ९ सदस्यीय बन्ने भएको छ ।
एमाले नेता विष्णु रिमालका अनुसार सचिवालयमा केपी ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहेका छन् ।
एकीकृत पार्टीको महासचिवमा पौडेल र प्रवक्ताको जिम्मेवारीमा श्रेष्ठ रहने पनि उनले जानकारी दिए । यता, २४१ सदस्यीय केन्द्रीय टिम बन्नेमा ४५ सदस्यीय स्थायी समिति बनाउने भएको छ ।
यसअघि ४३ सदस्यीय स्थायी समिति बनाउने निर्णय गरेकामा दुई नेता छुटेकाले थप गरिने भएको छ । प्रचण्ड र ओलीले आलोपालो आगामी महाधिवेशनसम्म पार्टी चलाउने समझदारी यसअघिनै कायम भइसकेको छ ।
राष्ट्रिय सभा गृहः भित्र हाउसफुल, बाहिर खचाखच !
राष्ट्रिय सभागृहबाट अपराह्न ५ बजे दुई ठूला कम्युनिस्ट पार्टीहरु एमाले र माओवादी केन्द्रको एकीकरण घोषणा हुँदैछ । अहिले दुई पार्टीको संयुक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । तर, अपराह्न ५ बजे अगाडि नै सभागृह ‘हाउसफुल’ भइसकेको छ ।
दुवै पार्टीका कार्यकर्ता, शुभचिन्तक र दर्शकहरु दिउँसोदेखि नै पार्टी एकता घोषणास्थल सभागृहमा जम्मा भइरहेका छन् ।
सभागृह ‘हाउसफुल’ भइसकेकाले अहिले प्रवेशद्वारका दुईवटै ढोका लगाइएको छ । मञ्चमा स्थायी समिति सदस्यका लागि कुर्सी राखिएको छ । ‘पार्टी एकताप्रति मान्छेहरुको उत्साह छ, हामी साढे २ बजे भित्र छिरेका थियौं त्यही बेला नै सभागृहको हाउसफुल भइसकेको थियो आधिभन्दा बढि सभागृह बाहिरै छन्’, माओवादी केन्द्रको विद्यार्थी संगठनका उपाध्यक्ष विजय गौतमले भने,‘यहाँको वातावरण अत्यन्तै उत्साहजनक छ, पार्टी एकताको घोषणा कुरेर बसिरहेका छौं ।’
सभागृहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यक्रमका दर्शकलाई प्रहरीले शरीर चेकजाँच गरेर मात्र हलभित्र छिराएको थियो । बिहिवार विहानदेखि नै दुवै पार्टीका बैठकहरु लगातार बसिरहेका छन् । पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताका लागि गठित दुवै कार्यदलका प्रतिवेदन अनुमोदन गरेको छ । एकता प्रकृयामा रहेका दुईवटै पार्टीहरु बिघटन भएका छन् ।
एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठकले एकताका लागि पार्टी बिघटनको निर्णय गरेका हुन् ।