राष्ट्रिय गौरवको प्रादेशिक सडक शिलान्यास

सुर्खेत । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रवहादुर शाहीले सोमबार दैलेखको डुंगेश्वरमा जमुनाहा–कोहलपुर–दुल्लु–गमगढी–नाक्चेलाग्ना राष्ट्रिय गौरवको प्रादेशिक सडकको शिलान्यास गरेका छन् । प्रादेशिक सडक अन्तर्गत माथिल्लो डुंगेश्वर–दुल्लु सडकखण्ड निर्माणको मुख्यमन्त्री शाहीले शिलान्यास गरेका थिए ।

शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले केही व्यक्तिहरुका कारण ठूला आयोजनाहरु अलमलमा पर्ने गरेको बताए । ‘विभिन्न ठूला आयोजनाहरु केही व्यक्तिहरुद्वारा अलमलमा पार्ने काम भएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अब त्यस्तालाई निगरानी गर्ने र समृद्ध कर्णाली बनाउने हाम्रो अभियान शुरु भएको छ ।’

मुख्यमन्त्री शाहीले सडकलाई चीनसम्म जोडन सके कर्णालीलाई धेरै फाइदा पुग्ने बताए । ‘हामीले यो सडकलाई चीनसम्म जोडने महत्वाकांक्षी आयोजनाका रुपमा लिएका छौं,’ उनले भने, ‘यो सडक निर्माण हुनु भनेकै कर्णालीको मेरुदण्ड तयार हुनु हो ।’

उद्घाटन कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले विशेष रुपमा भौतिक पूर्वाधारका क्षेत्रमा लगानी बढाउने बताए । ‘कर्णाली प्रदेश विकटताको भण्डार हो,’ उनले भने, ‘उक्त विकटताको चुनौती सामना गर्नको लागि प्रदेश सरकारले हरसम्भव प्रयास गर्नेछ ।’ मन्त्री ज्वालाले यो सडक बनाउन सके प्रदेशकै मुहार फेरिने बताए । ‘यो सडक निर्माण गर्न सके हाम्रो प्रदेशको मुहार परिवर्तन हुने पक्का छ,’ उनले भने, ‘तर त्यसकालागि सबै जनताले सडक निर्माणमा अपनत्व ग्रहण गर्दै सहयोग गर्नुपर्छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै उक्त क्षेत्रका सांसद सशिल थापाले आफूले आफ्नो क्षेत्रको विकासकालागि कुनै कञ्जुस्याई नगर्ने बताए । ‘यहाँहरुका अपेक्षा अनुरुप म काम गर्नेछु,’ सांसद थापाले भने, ‘आगामी बजेटमा थप विकासका लागि बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रकाशित मिति : २०७५ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस