सम्पादकीय ः रुकुममा अलपत्र बालबालिका घर फर्काऊ

जुम्लाबाट हरेक बर्ष केहि न, केहि बाहानामा जिल्ला बाहिर बालबालिका अबैध रुपमा ओसारपोसार भैरहेका छन् । गरिबि, अशिक्षा र विभिन्न प्रलोभनपरी बालबालिका ओसारपोसार हुने गरेका छन् । तर जिल्लाबाहिर वा भित्र के कति बालबालिका ओसारपोसार भए र तिनको अवस्था बारे जिल्लाका कुनै निकायसँग तथ्यांक छैन । राम्रो शिक्षा दिने, काम दिने र उनिहरुको स्याहार सुसारको जिम्मा लिने निहुँमा विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले बालबालिका ओसार पोसार गर्ने गरेका छन् । त्यस्ता बालबालिका पछि गएर रहरले भन्दा बाध्ययताले ईच्छा बिपरीत तथा जोखिमयुक्त श्रम गर्न बाध्य हुन्छन् ।

हरेक बर्ष जिल्ला बाहिर वा भित्र ओसारपोसार हुने बालबालिका यस्तै समस्याबाट मुक्त भएका छन् भन्न सकिने अवस्था छैन । बालबालिकाको सम्बन्धमा गरिने सबै प्रकारका काम उनीहरूको उच्चतम हितलाई ध्यानमा राखेर गरिनु पर्ने हो । तर यस्ता कार्यमा आमाबाबु वा अन्य जिम्मेवार व्यक्तिले बालबालिकाको हितमा काम गरेको पाईदैन । विगत एक महिनाअघि मात्र जुम्ला पातारासीबाट अनथालयमा पढाउने आश्वासन दिएर २४ जना बालबालिका रुकुमको नरसिंह बालगृहमा पुर्याईएका छन् । मापदण्ड पुरा नभएको त्यस बालगृहमा ति बालबालिकाले नत राम्रो सँग पढ्न पाएका छन्, नत राम्रो खान, बस्न । घरमा आमा बाबा नभएको वडाबाट सिफारीस बनाउँदै त्यसरी अबैध रुपमा त्यहाँ पुगेका बालबालिका अहिले अलपत्र अवस्थामा छन् । त्यस्ता बालबालिकाको स्याहार संभारको तत्काल व्यवस्था गर्ने जिम्मा राज्यले लिनु पर्ने हो । तर राज्यका बालबालिका सम्बन्धित निकाय अबैध रुपमा बालबालिका ओसारपोसार गर्नेहरुको खोजि अनुसन्धान समेत गर्दैनन् ।

आमा बाबु वा बालबालिकाको स्याहार गर्ने जिम्मा लिएका ति अबैध व्यक्तिहरूबाट बालबालिकामाथि हुनसक्ने सबै प्रकारका दुर्व्यवहार र उपेक्षाबाट बालबालिकालाई जोगाउनु राज्यको कर्तव्य हो । राज्यले त्यस्ता काम रोक्ने र कानुनी उपचारका विशेष उपायहरू अपनाउनु पर्छ । तसर्थ हरेक बालबालिकाको आफ्नो आमाबाबुसँग बस्न पाउने अधिकार छ । कहिलेकाहीँ बालबालिका आफ्ना आमाबुवासँग स्थायी वा अस्थायी रूपमा बस्नु असंभव हुन्छ । यस्तो अवस्थामा त्यस्ता बालबालिकाका लागि राज्यले विशेष संरक्षण दिनुपर्छ र मापदण्ड पुरा गरेका बालगृहजस्ता कुनै संस्थामा वैकल्पिक पारिवारिक स्याहारको व्यवस्था गर्नु पर्छ । तर जुम्लाबाट रुकुमसम्म यसरी बालबालिकालाई अबैध रुपमा विभिन्न बाहाना बनाई ओसार पोसार गर्ने, गर्न लगाउने र सहमति दिने अभिभावक लगाएत यस्तो कार्यमा संलग्न सबैलाई कानुन अनुसार कारवाहि गर्नुका साथै तत्काल ति बालबालिकालाई घर फर्काउने बातावरण सृर्जना गर्न सम्बन्धित निकाय मौन बस्नु हुदैन ।

प्रकाशित मिति : २०७५ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस